लालपुर्जा दिन्छु, वडामा आइज’ भन्ने नेम्वाङ वडा सदस्य रहेको टेकपाना फ्याक्टचेकको निष्कर्ष

निरोज ढकाल , ८  पटक हेरिएको

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को चुनावी प्रचारका क्रममा “नक्सा लिन वडामा आइज” भन्दै मतदातालाई कडा शैलीमा जवाफ दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसमा देखिएका व्यक्तिको पहिचानबारे प्रश्न उठेको थियो। सो दाबीको सत्यता जाँच गर्दै फ्याक्टचेक गर्दा भिडियोमा देखिएका व्यक्ति झापा गौरादह नगरपालिका–४ का निर्वाचित वडा सदस्य रहेको पुष्टि भएको समाचार टेकपाना फ्याक्टचेकले दाबी गरेको छ ।

 

टेकपानाका अनुसार, जेनजी आन्दोलनकी नेतृ भावना राउत ले १० फेब्रुअरी २०२६ मा फेसबुकमा भिडियो सेयर गर्दै “यो वडामा आइज, काम हुँदैछ भन्ने को हो? यदि वडा सदस्य वा अध्यक्ष हुन् भने निर्वाचन प्रचारमा किन छन्?” भन्दै प्रश्न उठाएकी थिइन्। उनले टेकपानालाई मेन्सन गर्दै नेपाल प्रहरी र निर्वाचन आयोगलाई समेत सीसी राखेर तथ्य जाँचको आग्रह गरेकी थिइन्।

 

टेकपाना फ्याक्टचेकको अनुसन्धान अनुसार ‘केपी ओली लालपुर्जा’, ‘केपी ओली नक्सा’, ‘केपी ओली चुनाव प्रचार धम्की’ लगायतका किवर्ड प्रयोग गरी सामाजिक सञ्जालमा खोजी गर्दा उक्त भिडियो Popular Network, Kalinchowk Online र BaahraKhari लगायतका पेजहरूमा पोस्ट भएको भेटियो।

 

त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनअन्तर्गत गौरादह नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरूको सूची अध्ययन गरिएको थियो। गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी को फेसबुक पेजमा प्रमाणपत्र वितरण समारोहका तस्बिरहरू विश्लेषण गर्दा भिडियोमा देखिएका व्यक्तिसँग मिल्दोजुल्दो अनुहार भएको व्यक्ति फेला पर्‍यो।

 

थप खोजी गर्दा गौरादह–४ मा एमालेबाट निर्वाचित प्यानलको पोस्टरमा उक्त व्यक्तिको नाम सूर्यबहादुर नेम्वाङ उल्लेख रहेको पाइयो। निर्वाचन आयोगको आधिकारिक नतिजा पोर्टल तथा गौरादह नगरपालिकाको वेबसाइटमा पनि उनी वडा नम्बर ४ का निर्वाचित सदस्यको रूपमा सूचीकृत छन्। यसबाट भिडियोमा देखिएका व्यक्ति सूर्यबहादुर नेम्वाङ सुब्बा नै भएको पुष्टि भयो टेकपानाले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-११ , समय : ११:५६:०० , ३ घन्टा अगाडि