निरोज ढकाल , ११ पटक हेरिएको
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने स्पष्ट दाबी गरेका छन्। सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशनबाट भर्खरै मात्र सभापति बनेको उल्लेख गर्दै अब नियमित महाधिवेशनमार्फत पनि नेतृत्व निरन्तरता दिने तयारीमा रहेको बताए।
थापाले आफू नेतृत्वबाट भाग्ने व्यक्ति नभएको भन्दै कांग्रेसको जिम्मेवारी अझै केही समय सम्हाल्ने दृढता व्यक्त गरे। उनले भने, “म भाग्ने मान्छे होइन। म कांग्रेसको सभापति बल्ल बनेको छु। अब महाधिवेशन आउँदै छ, फेरि सभापति बन्नेछु र त्यसपछि पनि केही समय क्रियाशील राजनीतिमा रहनेछु।”
सभापति थापाले सर्लाही–४ बाट उम्मेदवारी दिँदै मधेशको छोरा बनेर राजनीति गर्न आएको बताएका छन्। उनले काठमाडौं–४ का मतदाताले आफूलाई त्यहीँबाट चुनाव लड्न आग्रह गरेको भए पनि अहिले सर्लाहीका जनताको भरोसामा यहाँ आएको स्पष्ट पारे। आगामी दिनमा सर्लाही–४ का मतदाताले पनि आफूलाई यहीँबाट नेतृत्व गर्न आग्रह गर्ने वातावरण बनाउने विश्वास उनले व्यक्त गरे।
कांग्रेसलाई संगठनात्मक रूपमा थप मजबुत बनाउँदै मधेशसँगको सम्बन्ध अझ गहिरो बनाउने आफ्नो लक्ष्य रहेको थापाको भनाइ छ। उनले पार्टीभित्र एकता, अनुशासन र स्पष्ट राजनीतिक दिशाको आवश्यकता औंल्याउँदै आगामी महाधिवेशनमार्फत कांग्रेसलाई थप सशक्त बनाइने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: २०२६-०१-२७ , समय : १४:२०:२४ , ३ घन्टा अगाडि