असंरक्षित बालबालिका व्यवस्थापन गरिने

हाम्रो समाचारदाता , ४२१  पटक हेरिएको

गुल्मी, २३ साउन । गुल्मीमा सडक तथा असंरक्षित बालवालिकाको व्यवस्थापन गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीको नेतृत्व, रेसुङ्गा नगरपालिकाको अगुवाइ र अन्य स्थानीय तहको समन्वयमा सडक तथा असंरक्षित बालबालिकाको व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेका १८ सडक बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा, खेलकुद र उनीहरूको निगरानीसमेत हुने गरी व्यवस्थापन गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

बालबालिकाका लागि होस्टेल सञ्चालन र व्यवस्थापन महेन्द्र नमुना माध्यमिक विद्यालय, शिक्षक व्यवस्थापन रेसुङ्गा नगरपालिका, सुरक्षा प्रबन्ध जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य परीक्षण र उपचार गुल्मी अस्पताल, खेलकुद व्यवस्थापन जिल्ला खेलकुद विकास समिति र नियमित निरीक्षण, अनुगमन र सुपरिवेक्षण शिक्षा विकास तथा समन्वय एकाइले गर्ने गरी निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख द्रोणवहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिचान भएका १८ बालबालिकामध्ये मालिका गाउँपालिकाका छ जना, रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका तीन/तीन जना, मदाने गाउँपालिकाका एक जना, प्युठान र बागलुङका एक/एक जना छन् ।

सडक बालबालिकाका लागि पहिलो चरणमा अर्धवार्षिक व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाको तीन लाख ५० हजार, मालिका गाउँपालिकाको तीन लाख, धुर्कोट गाउँपालिकाले एक लाख ५० हजार, इस्मा गाउँपालिकाले एक लाख ५० हजार, मदाने गाउँपालिकाले ५० हजार र शिक्षा विकास तथा समन्वय एकाइले एक लाख ७६ हजार गरी कुल ११ लाख ७६ हजार सङ्कलन हुनेछ । सङ्कलित रकम शिक्षक व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, खेल प्रशिक्षक, भान्से, स्टेसनरी, खेलकुद सामग्री, भाँडावर्तन, ग्याँस चुल्हो र अस्थायी शौचालय व्यवस्थापनलगायतमा खर्च हुनेछ ।

साउन मसान्तसम्म सबै व्यवस्थापन गरी भदौ १ देखि बालबालिकाको व्यवस्थापन हुने सडक बालबालिकाको अध्ययनका लागि गठित कार्यदलका संयोजक शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२२-०८-०८ , समय : ०६:५३:०३ , ३ वर्ष अगाडि