enepalpatra , ३९२ पटक हेरिएको
नगेन्द्र सापकोटा
काठमाडौँ, १२ साउन । गते सङ्घ, प्रदेश र स्थानीय तीन तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ। रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिदै छ। सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारी रिक्त हुँदा सेवा प्रवाहमा समस्या थपिएको छ ।
लोक सेवा आयोगले तयार गरेको परीक्षाको कार्यतालिका अनुसार आगामी असोज अन्तिम साता सहसचिव र उपसचिवको परीक्षा हुँदै छ । कात्तिकको अन्तिम साता प्राविधिक शाखा अधिकृतको मसिरमा अप्राविधिक शाखा अधिकृतको पुसमा प्राविधिक नायव सुव्वा र माघको अन्तिम साता अप्राविधिक नायव सुव्वाको परीक्षा हुने कार्यतालिका आयोगले बनाएको छ । त्यस्तै फागुनमा प्राविधिक खरिदार र चैतमा अप्राविधिक खरिदारको परीक्षा लिने गरी कार्यतालिका बनाएको आयोगले जनाएको छ ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले आयोगले वार्षिक रूपमा बढीमा चार हजार परीक्षार्थीको मात्र परीक्षा सम्पन्न गरी सरकारलाई सिफारिस गर्न सकिने बताउनुभयो। उहाँका अनुसार वार्षिक रूपमा करिब सोही सङ्ख्यामा कर्मचारी अवकाश हुने भएकाले सोही सङ्ख्यामा आयोगले कर्मचारी सिफारिस गर्नेछ। आयोगका अनुसार गत दुई वर्ष कोरोनाका कारणले कार्यतालिका अनुसार परीक्षा लिन नसकेकाले केही बढी सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको हो। उहाँले कुनै वर्ष भने एक पटक धेरै सङ्ख्यामा कर्मचारी अवकाश हुने भएकाले रिक्त कर्मचारीको दरबन्दी तलमाथि हुने बताउनुभयो। कोरोनाका कारण स्थगित परीक्षा सञ्चालन भइरहेको आयोगले जनाएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक बाबुराजा श्रेष्ठले कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकामा अहिले ८६ हजार कर्मचारी मात्र कार्यरत रहेको जानकारी दिनुभयो
मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा तीन तहमा ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको बताउनुभयो। “संविधान अनुसार सङ्घीय निजामती सेवा आएपछि प्रदेश निजामती सेवा ऐन आउँछ प्रदेश सेवा ऐन आएपछि सबै प्रदेशमा आयोग पूर्ण रूपमा सक्रिय हुन्छन्, उहाँले भन्नुभयो, “प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन गर्छन्। त्यसपछि स्थानीय तहमा कर्मचारी पूर्ति हुन्छ।
प्रकाशित मिति: २०२२-०७-२८ , समय : ०६:५१:०७ , ३ वर्ष अगाडि