प्रदेश १ को नामकरणका लागि एमालेले औपचारिक पहल थाल्यो, पाँच सदस्यीय संसदीय समिति गठन

प्रदेश १ को नामकरणका लागि एमालेले औपचारिक पहल थाल्यो, पाँच सदस्यीय संसदीय समिति गठन

कुमार लुईटेल , ४४६  पटक हेरिएको

बिराटनगर, १६ जेठ ।    प्रदेश नम्बर १ को नामकरणको विषयमा प्रमुख विपक्षी नेकपा एमालेले औपचारिक छलफल सुरु गरेको छ ।
नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशको नामाकरण राख्ने विषयमा सहजीकरण गर्न संसदीय समिति गठन गरेको छ ।

एमालेले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, “नामका विषयमा अहिले विभिन्न ढंगले छलफल गर्नुपर्ने भएकोले संसदीय समिति गठन गरेर हामीले यसबारे अघि बढ्ने निर्णय गरेका हौँ ।”

एमालेले गठन गरेको समितिको सदस्यमा एमालेका सांसद जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई रहेका छन् । समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने बताइएको छ । अहिले प्रदेश नम्बर एकको हिउँदे तथा बजेट अधिवेशन जारी छ । केही समयअघि, मुख्यमन्त्री राजेन्द्र राईले ठूलो दलको हैसियतले नामकरणको विषयमा पहल लिँदा हुने भन्दै सदनबाट आह्वान गरेका थिए ।

अहिलेसम्म ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । प्रदेश एक प्रदेश सभाको कार्यअवधि नै पूरा हुन लाग्दासमेत औपचारिक रूपमा नामको विषयमा छलफल हुन सकेको छैन । एमाले जातीयभन्दा पनि भौगोलिक पहिचानको आधारमा नाम राख्नुपर्ने पक्षमा रहेको छ ।

अहिले प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध गठबन्धन सरकार छ । एमाले प्रमुख विपक्षी र राप्रपा विपक्षमा छन् । सरकारले नामको विषयमा छलफल गर्न स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति समेत गठन गरेको थियो । तर, समितिले छलफल अघि बढाउन सकेको छैन ।

साथै, प्रदेशसभा अन्तर्गतका चारवटा समितिहरूमा एमालेका तर्फबाट चारजना पूर्वमन्त्रीहरूको सहभागिता नरहेकाले उनीहरूलाई समितिको सदस्यमा पठाउने निर्णय पनि भएको प्रमुख सचेतक राजभण्डारीले बताए ।

 

बाह्रखरी वाट

प्रकाशित मिति: २०२२-०६-०९ , समय : १४:५५:०७ , २ वर्ष अगाडि