उर्लाबारीका इन्सपेक्टर र कप्तानगन्जका जवान सर्वोत्कृष्ट प्रहरी घोषित

Enepal Patra Pvt. Ltd. , २४७  पटक हेरिएको

उर्लाबारी, ८ पुष ।  मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर (प्रहरी निरीक्षक) र सुनसरीको प्रहरी चौकी कप्तानगन्जमा कार्यरत जवान मंसिर महीनाको सर्वोत्कृष्ट घोषित भएका छन् ।

उर्लाबारी प्रहरी प्रमुख इन्सपेक्टर राजाराम खड्का र नगर प्रहरी कार्यालय धरान दरबन्दी भइ प्रहरी चौकी कप्तानगन्जमा कार्यरत जवान राजेशकुमार साह २०७८ मंसिर महीनामा प्रदेश १ भरिकै सर्वोत्कृष्ट ठहरिएका हुन् । मासिक कार्य सम्पादन मूल्याङ्कनका आधारमा उनीहरुलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट घोषित गर्दै ‘बेस्ट पुलिस अफ दी मन्थ’ उपाधिबाट पुरस्कृत गरेको छ ।

प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवलका साथ अपराध नियन्त्रण एवम् अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका कारण दुवै जनालाई सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको जानकारी दिए । इन्सपेक्टर खड्का र जवान साहले चोरीपैठारी लगायत विभिन्न अपराधिक घटना नियन्त्रण, अपराधबाट पीडित भएकालाई कानुनी परामर्श दिने तथा जबरजस्ती करणीका घटनामा संलग्न एवं लागुऔषधका कारोबारीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन महत्पूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउँदै प्रहरीको छवि उच्च बनाउन गरेको प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्ने क्रममा खड्का र साह सर्वोत्कृष्ट ठहरिएको जानकारी डिआइजी बिसीले दिए । प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने प्रहरीमध्येबाट छनोट गरेर प्रत्येक महीना सर्वोत्कृष्ट घोषित गर्दै आएको छ ।

सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरी सर्वोत्कृष्ट कार्यको विवरणसहितको ‘फ्लेक्स प्रिन्ट’ प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेशभित्रका १४ वटै जिल्ला प्रहरी र ‘क’ स्तरसम्मका इलाका प्रहरी कार्यालयमा एक महीनासम्म राखिँदै आएको छ ।

प्रकाशित मिति: २०२१-१२-२३ , समय : १२:४८:३८ , २ वर्ष अगाडि