केही मान्छेको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए ; प्रधानमन्त्री ओली

Enepal Patra Pvt. Ltd. , ४३८  पटक हेरिएको

काठमाडौं, २ बैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनु भएको छ ।

लोकतन्त्रका योद्धालाई सम्मान गर्न बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउनुभएको हो ।

संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पुरा हुन नसक्दा प्रतिगमन भयो भनेर हल्ला चलाइएको उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन हुदैन भन्नुभयो ।

आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस भन्दै हिंडनेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले तत्कालिन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहिं पुगिदैन भन्ने कुरा अडानका साथ राखेको पनि बताउनुभयो ।

सरकारले २०६२÷६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवार, घाइते तथा आपाङता भएका र बहिर्गमित पूर्व लडाकुहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८१ जना परिवारलाई प्रमाणपत्र दिएर सम्मान गर्नुभयो ।

प्रकाशित मिति: २०२१-०४-१५ , समय : ०६:५१:४३ , ३ वर्ष अगाडि