प्रधानमन्त्रीकै कारण सरकारको बद्नामी भयो : कांग्रेस नेता

Enepal Patra Pvt. Ltd. , ६३१  पटक हेरिएको

विराटनगर ७ अशाेज । नेकपाका सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओलीका कारण सरकार जस्तो गरिमामय संस्थाप्रति नै जनतामा निरासा उत्पन्न भई बद्नामी बढेको कांग्रेस नेताले आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत मोरङको रंगेलीमा मंगलबा भएको विरोधसभामा बोल्ने वक्ताले प्रधानमन्त्री ओलीको वचन र कर्मकै कारण जनताले सरकार जस्तो पवित्र संस्थाप्रति नकारात्मक धारणा बनाउन थालेको दाबी गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको वचन र काम गराइका कारण जनतामा चरम निरासा उत्पन्न भएको बताए । भने,‘‘सरकारविरुद्ध षडयन्त्र भयो भन्ने तर संविधान विरोधी काम गर्न सरकारले नै छाडेको छैन । सभामुख र उपसभामुख एउटै पार्टीको बनाउने भन्ने संविधाना छ र ?’’ रिजालले संविधानका व्यवस्थालाई उलंघन गर्ने र कांग्रेसले व्यवस्थामाथि नै षडयन्त्र ग¥यो भन्नेसम्मका अभिव्यक्ति दिनु लज्जास्पद भएको चर्चा गरे ।
देश समृद्धितर्फ जानु पर्ने जान नसकेको बरु विकृति,विसंगति र भ्रष्टाचारले थप बढावा पाएको रिजालको भनाइ थियो । ‘‘दुई तिहाईको दम्भ छ तर जनताको मन जित्न सकेको छैन’’,उनले भने,‘‘सरकारकै कारण जनतामा निरासा र आक्रोश दुबै बढ्न थालेको छ । अब कांग्रेसले नै देशलाई निकास दिन सक्छ ।’’
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले जनताबाट आवधिक रुपमा अनुमोदित भएर सरकार बन्ने प्रक्रिया भएपनि यो सरकारलाई मत दिएको प्रति अहिले जनताले थकथकी गर्ने अवस्था आएको सुनाए । उनले भने,‘‘सरकारका मन्त्रीको बोलाइ र काम गराइको तादम्यता हेर्दा देश झन अद्योगतितर्फ जाने देखिन्छ ।’’ घिमिरेले कांग्रेसले आफूलाई सुधार गरेर अघि बढ्नु पर्ने अवस्था आएको बताए ।
अभियानका केन्द्रीय प्रतिनिधि भगिरथ पोद्धारले नेकपाको सरकार आफ्नो डम्फू बजाउन व्यस्त रहेको तर जनताको पिरमर्का बुझ्नुको साटो आफ्नाहरुलाई पोस्न उद्धत रहेको बताए । मैथिलीमा भाषण गरेका पोद्धारले हिजो मधेश र मधेशीका लागि त्याग गर्ने भनेर हिंडेका उपेन्द्र यादव जस्ता नेतासमेत सरकारमा गई आफ्नो अभिष्ट सिद्धिमा लागेको बताए । उनले प्रश्न गर्दै भने,‘‘संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? मधेशी जनतालाई दिएको आश्वासनको के भयो ?’’ नेता अमृत अर्यालले जागरण अभियानले कांग्रेसमा नयाँ उर्जा थपिने र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न मद्दत मिल्ने बताए । भने,‘‘कांग्रेस एक भएर अघि बढ्नुको विकल्प छैन ।’’ अर्यालले कम्युनिष्ट सरकारबाट जनताले धेरै अपेक्षा गर्न नसक्ने बताए ।
पार्टीका जिल्ला सभापति ढिगबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरागवी,नेता भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, पूर्वसचिव यदुकुमार विष्ट, सुनसरीका नेता हेमकर्ण पौडेललगायतले आफ्ना विचार राखेका थिए ।

प्रकाशित मिति: २०१९-०९-२६ , समय : ०७:१२:२७ , ५ वर्ष अगाडि