मुक्त कमलरीको ‘कालोकोट’ लगाउने धोको पूरा

Enepal Patra Pvt. Ltd. , ७८०  पटक हेरिएको

रञ्जिता अधिकारी

देउखुरी, १२ चैत । कालोकोट र कालो पाइन्टमा सजिएकी किशोरी बिहान कार्यालयका लागि निस्कँदा वरपरका मानिसले अचम्म मानेर हेर्ने गर्छन् । उनी कुनै सम्पन्न परिवारको होइनन्, सामान्य परिवारको त्यो पनि पूर्व कमलरी १ उहाँ हुनुहुन्छ बिष्णु चौधरी ।

पूर्व कमलरी बिष्णुलाई मानिसले वकिलसाप भनेर बोलाउँछन् । आजभोलि उहँको दिनचर्या फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका थारु समुदायका विपन्न परिवारले आफ्नो स–साना बालिकालाई मालिकको घरमा कमलरी पठाउने परम्परा नै थियो । दाङलगायत पश्चिम नेपालमा यो प्रथाको रुपमा रहेको थियो । मालिकको घरमा छोरीलाई कामदार पठाइएन भने उनीहरूका अभिभावकले खेत खनजोत गर्न पाउँदैनथे । पढाइदेखि हरेक कुराबाट वञ्चित हुनुपर्ने अवस्था थियो । कमलरी मुक्तिको घोषणासँगै स्वतन्त्रता पाएका पूर्व कमलरीले उच्च शिक्षा अध्ययन गरेर आफ्नो लक्ष्यमा पुग्न थालेका छन् ।

लमही नगरपालिका–८ सतवरिया निवासी बिष्णु चौधरी सात वर्षको उमेरमा कमलरी ९अर्काको घरमा बधुवा मजदूरको रुपमा काम गर्ने० जानुभयो । अर्काको घरमा गएपछि बिष्णुका रहर सबै बन्द भएका थिए । भर्खर खेल्ने, रमाउने उमेरमा आफ्नो बुबाआमाको न्यानो काख छाडेर उहाँलाई जमिन्दारको जूठो भाँडा माझ्नका लागि कमलरी बस्नुपयो । त्यही बेला दाङमा कमलरी उन्मूलनका लागि शहरदेखि गाउँसम्म कमलरी उद्धार अभियान तीव्र रूपमा चल्यो ।

कमलरी उन्मूलन क्षेत्रमा काम गर्ने संस्था एफएनसी ९असहाय नानीहरुको साथी०ले बिष्णुलाई उद्धार गरेर सतबरियास्थित राप्ती मावि उचानिम्बुमा कक्षा ५ मा भर्ना गरिदियो । बिष्णुले भन्नुहुन्छ, “मैले जिन्दगीमा पढ्न पाउँछु भनेर सोचेको पनि थिइन, संस्थाले पढ्ने अवसर मिलाइदिएपछि पढ्न पाएँ ।” कमलरीबाटमुक्त भएर विद्यालयमा भर्ना भएकी बिष्णुले मेहनतसाथ पढाइमा ध्यान दिनुभयो । परिश्रमको फल मीठो हुन्छ भने जस्तै बिष्णु कक्षा ५ मा प्रथम हुनुभयो । यसरी ९ कक्षासम्म विद्यालयमा कहिले प्रथम त कहिले दोस्रो हुनुभयो । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि बिष्णु मुख्य विषय अङ्ग्रेजी लिएर पढ्दै १२ कक्षामा समेत सबै सङ्कायका छात्रछात्रलाई उछिन्दै अगाडि बढ्नुभयो ।

राम्रो न्यायाधीश बन्ने सपना रहेको उहाँ बताउनुहुन्छ, “१२ कक्षामा पढ्ने बेला वकिल बन्ने सपना थियो, त्यो अहिले पूरा भएको छ ।” न्यायाधीश बनेर पछाडि पारिएका समुदाय, वर्गको पक्षमा न्याय गर्ने लक्ष्य राखेकी बिष्णुले स्नातक तह अङ्ग्रेजीमा र स्नातकोत्तर तहमा राजनीति शास्त्र उत्तीर्ण गरिसक्नुभएको छ । यससँगै बिष्णुले अहिले एलएलबी उत्तीर्ण गरेर अधिवक्ताको लाइसेन्ससमेत उत्तीर्ण गरेर कानून व्यवसायी बन्नुभएको छ ।

कमलरीहरुको हकहितका लागि खोलिएको संस्था ‘मुक्त कमलरी विकासमञ्च’ को केन्द्रीय सदस्य रहेकी बिष्णु कमलरीको अधिकारका लागि सक्रिय भएर वकालत गर्न थाल्नुभएको छ । भविष्यमा राम्रो न्यायाधीश बन्ने सपना रहेको र समयले साथ दियो भने पछाडि पारिएका समुदाय, वर्गको पक्षमा न्यायका लागि समर्पित हुने आफ्नो लक्ष्य रहेको सुनाउनुभयो ।

गढवा गाउँपालिका मानपुर घर भएकी उर्मिला चौधरी पूर्व कमलरी हुनुहुन्छ । सानै उमेरमा अर्काको घरमा कमलरी बसेकी उहाँ पनि अहिले १२ कक्षा पास गरेपछि वकिलको तयारीमा लाग्नुभएको छ । काठमाडौँ स्कुल अफ ल मा एलएलबीको दोस्रो वर्षमा अध्ययन गरिरहनुभएका उहाँको दुई दाजु दुई दिदी कमैया÷कमलरी बसेर जीवन बिताएको थियो । ‘छोेरीहरु शिक्षा चाहन्छन्, दासता होइन’ भन्ने नाराले सार्थकता पाएको र आफ्नो पालामामुक्त गराउन सङ्घ संस्था आएकाले कमलरीबाटमुक्त भई पढ्न पाएको उहाँ बताउनुहुन्छ ।

एघार वर्ष अर्काको घरमा कमलरी भएर दिन बिताएकी उर्मीलाको जीवनमा अहिले परिवर्तन आएको छ । वकिल बनेर असाहयहरुको सहारा बन्ने धोको रहेको उहाँ बताउनुहुन्छ । दासत्वको जीवनबाट मुक्त भएर अगाडि आएर पढौँला र अगाडि बढौँला भन्ने लागेको थिएन । ‘भित्रैैदेखिको इच्छाशक्ति भएर होला पढाइलाई अगाडि बढाउँदै छु’, उहाँ भन्नुहुन्छ, “जीवनमा धेरै सङ्घर्ष गर्नुप¥यो । कमलरी कुप्रथाको विरुद्ध लड्दा भोगेका क्षण पनि ताजै छन् । विद्यालय कस्तो हुन्छ भन्ने थाहा थिएन, पढाइ त झन परैको कुरा, ती सम्झँदा मनमा गाठो पर्छ ।” पढाइको महत्व थाहा भयो, उद्देश्य पूरा गर्न पढाइलाई अगाडि बढाएको छु, लक्ष्यमा पुग्नलाई निरन्तरता दिइरहेको छु, उहाँको भनाइ छ ।

नेपाल सरकारको तर्फबाट २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेपछि विधिवत् रुपमा कमलरीमुक्त भएको थियो । उनीहरुलाई पढ्नका लागि दश जोड दुईसम्म छात्रवृत्तिको व्यवस्था गरेसँगै पढ्न नपाएका र दासत्व जीवन बिताएका नानीहरुको पढाइले निरन्तरता पाएको हो । त्यो भन्दामाथिको कक्षा पढ्नका लागि कमजोर आर्थिक अवस्था भएकालाई मुस्किल परेको मुक्त कमलरी विकाश मञ्चले जनाएको छ । मञ्चका अनुसार स्नातकोत्तर तहमा अध्ययन गर्ने ११ जना छन् । स्नातक तहमा १७१, दश जोड दुईमा ४८९ जना अध्ययनरत छन् । त्यसैगरी दाङमा ३१२, बाँकेमा ५४, बर्दियामा ३७०, कैलालीमा ३६७ र कञ्चनपुरमा १७१ जना विद्यालय तहमा अध्ययन गरिरहेका छन् । पाँच जिल्लामा एक हजार २७४ जना विभिन्न विद्यालयमा अध्ययनरत छन् । उमेर पुगेका र विद्यालय जान मन नगर्नेलाई संस्थाले विभिन्न सीपमूलक तालीम दिएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले जानकारी दिनुभयो ।

युथ फाउण्डेसनका कार्यक्रम संयोजक मानबहादुर क्षेत्रीले कमलरी प्रथाको अन्त्यका लागि कार्यक्रम ल्याएको बताउनुहुन्छ । सो संस्थाले विशेषगरी दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरका चौधरी समुदायका बालकालिकालाई लक्षित गरी अभियान चलाएको थियो । सोही अभियानअन्तर्गत मुक्तभएका बालबालिकाहरुमध्ये कोही वकिल भएका छन्, कोही उच्च शिक्षा हासिल गर्दैछन् । सानै उमेरका नानीहरुलाई विद्यालयमा भर्ना ग¥यौ र नानीहरु पढाइमा अगाडि आए । दाङलगायत पाँच वटा जिल्लामा पहिलो पटक कमलरी प्रथाको अन्त्यका लागि अभियान सञ्चालन गरेर पढ्नजानबाट वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउन सफल भएको कार्यक्रम संयोजक क्षेत्रीको भनाइ छ ।

सोही अभियानका क्रममा मुक्त भएका अधिकांशले आफ्नो जीवनलाई परिवर्तन गर्न सफल भएका छन् । आफ्नो लक्ष्य अनुसार पढेर वकिल भएको देख्दा धेरै खुशी लागेको छ, उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति: २०२१-०३-२५ , समय : १४:११:५७ , ३ वर्ष अगाडि