खोप नआएपछि नेपालमा कोभिडविरुद्ध दोस्रो डोज लगाउने मिति लम्बिने

Enepal Patra Pvt. Ltd. , ६३०  पटक हेरिएको

काठमाडौं, ३ चैत । कोभिड–१९ विरुद्धको खोप अपेक्षाअनुसार उपलब्ध नभएपछि दोस्रो डोज लगाउने मिति लम्बिने भएको छ । हालसम्म भारतको सहयोग, कोभ्याक्स योजना र भारतबाट किनेको समेत गरी नेपालमा जम्मा २३ लाख ४८ हजार डोज खोप आएको छ । त्यसमध्ये १५ लाखभन्दा बढी डोज प्रयोग भइसकेको छ ।

यस हिसाबमा अब नेपाल सरकारसँग करिब आठ लाख डोज खोप मात्रै बाँकी छ । बाँकी रहेको खोपलाई पनि सरकारले पहिलो डोजको रूपमा प्रयोग गरिरहेको छ ।फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन ९एफडिए०का अनुसार खोपको दोस्रो डोज चारदेखि आठ साताको अन्तरालमा लगाउँदा मात्रै यसले प्रभाव देखाउँछ । त्यसपछि लगाएको खोप प्रभावकारी नहुने एफडिएको भनाइ छ । तर, नेपाललाई भ्याक्सिन उपलब्ध गराउँदै आएका देशहरूमा कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले तिनै देशमा समेत भ्याक्सिन अभाव भइरहेको विभिन्न रिपोर्टले देखाएको छ ।

यसअघि नेपाल सरकारले दोस्रो डोज खोप वैशाखदेखि नै सुरु गर्ने जनाएको थियो । सोहीअनुसार सरकारले भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटलाई १० लाख डोजको रकम भुक्तानी पनि गरिसकेको छ । तर, खोप कहिलेसम्म आउँछ भन्ने कुनै निर्णय भएको छैन ।

पहिलो डोजकै लागि अपेक्षाअनुसार खोप नआएपछि सरकारले दोस्रो चरणमा दिने भनिएको ५५ वर्षमाथिको उमेर समूहलाई ६५ वर्षमाथि बनाएको थियो । यस्तै, विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० र ग्लोबल भ्याक्सिन अलाएन्स ९गाभी० कोभ्याक्स सुविधाअन्तर्गत ६० लाख नागरिकलाई पुग्ने गरी दिने भनिएको खोप पनि तीन लाख ४८ हजार डोजमा सीमित भएको छ । कोभ्याक्सअन्तर्गतको बाँकी १९ लाख डोज खोप जेठसम्म मात्रै आउने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पहिलो डोजका लागि १५ लाखभन्दा बढी डोज खोप प्रयोग भइसकेको छ । खोपको केही डोज खेर जान्छ, यसबाहेक बाँकी रहेको आठ लाख डोज खोप वृद्धवृद्धालाई लगाइरहेको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारी भन्छन्, ‘अहिले हामीसँग उपलब्ध खोप सकेसम्म धेरै व्यक्तिमा एक डोज मात्र भए पनि लगाउने भन्ने हो । वृद्धवृद्धाहरूलाई छाडेर बाँकी भएको खोप अर्को डोजका रूपमा दिन मिलेन, यस्तै खोपको एक्सपायर डेटको पनि ख्याल गर्नुपर्ने भएकाले अहिले भएको खोप लगाइसक्ने तयारी हो । दोस्रो डोजका लागि योजना बनाइरहेका छौँ ।’

भारतमै खोप अभाव हुने अनुमान
स्वास्थ्य मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिने भनेको ‘सिनोफर्म’को आठ लाख डोज भ्याक्सिन कहिले आउने भन्ने यकिन छैन । चीनबाट सिनोफर्म भ्याक्सिन आए पनि पहिलो डोज कोभासिल्ड लगाएकालाई दोस्रो डोज पनि कोभासिल्ड नै लगाउनुपर्ने हुन्छ । यसकारण सरकारले थप खोप पनि कोभासिल्ड नै ल्याउने प्रयास गरिरहेको मन्त्रालयको भनाइ छ । तर, भारतमा कोभिडको दोस्रो लहर चलिरहेकाले उतै खोपको माग बढिरहेको छ ।

यसकारण नेपालमा दोस्रो डोज भ्याक्सिन अभाव हुन सक्ने चिकित्सकहरूको अनुमान छ । भारतको महाराष्ट्र, केरला, कर्नाटक, तमिलनाडु, पन्जाबलगायत राज्यमा कोरोना संक्रमणदर बढिरहेको छ । महाराष्ट्रमा मात्र दिनको १५ देखि १६ हजारका दरले संक्रमित थपिइरहेका छन् । दिल्ली, गुजरात, मध्यप्रदेशदेखि नेपालसँग सिमाना जोडिएका राज्यमा पनि संक्रमणदर बढिरहेको छ ।

जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डे भन्छन्, ‘अस्ट्रेलियाले किनेको एस्ट्राजेनेकाको दुई लाख ५० हजार डोज लैजाने क्रममा इटालीले जहाज रोकेको धेरै भएको छैन । युरोपमै महामारी व्यापक नियन्त्रण भइनसकेका वेला भ्याक्सिन बाहिर दिनुहुँदैन भन्ने मत बढेको छ ।’ क्यानडा, अस्ट्रेलिया, जापानलगायत देशमा पनि खोपको तिर्खा उस्तै छ । भारतमा दोस्रो लहर फैलिएकाले नेपालमा भ्याक्सिन सहज उपलब्ध हुन गाह्रो हुने उनको भनाइ छ ।

समयमै दोस्रो डोज नलगाउँदा के हुन्छ ?
कोभासिल्ड भ्याक्सिनको पहिलो डोजले शरीरमा कोभिड संक्रमणविरुद्ध तीन महिनासम्म काम गर्छ । नेपालमा पहिलो चरणमा खोप लगाएको ६ साता मात्र पुगेको छ ।भ्याक्सिनको ट्रायलको समयमा चार साताको अन्तरालमा लगाउनुपर्ने बताइएको थियो । बेलायतमा गरिएको पछिल्लो अध्ययनअनुसार खोपको दोस्रो डोज आठ सातापछि लगाउँदा प्रभावकारी हुने उल्लेख छ ।

पछिल्ला अध्ययनले बढीमा १२ सातासम्म ढिला गर्दा पनि खोप प्रभावकारी हुने जनाएका छन् । वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। जनक कोइरालाका अनुसार विभिन्न अध्ययनले कोभासिल्ड भ्याक्सिनको पहिलो डोजले लगभग ५० प्रतिशतसम्म प्रभावकारी हुने गर्छ । यो बीचमा कोभिड संक्रमण भइहालेमा पनि संक्रमणको जोखिम कम रहन्छ । तर, खोपको एक डोज मात्रै शतप्रतिशत प्रभावकारी भने हुँदैन ।

नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२१-०३-१६ , समय : ०६:५३:३६ , ३ वर्ष अगाडि