निजी क्षेत्रसँग साझेदारीमा काम गर्ने प्रतिबद्धता

Enepal Patra Pvt. Ltd. , ५७०  पटक हेरिएको

हरिप्रसाद कोइराला
लेटाङ,२४ फागुन । लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले नीजि क्षेत्र र स्थानीय निकाय बीच सहकार्यबाटै काम भइरहेको बताउनु भएको छ ।
सोमबार लेटाङ उद्योग वाणिज्य सङ्घको २४ औं साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । नगर प्रमुख राईले नगरपालिकाले पहिले ब्यापार ब्यवसाय गर्नेलाई सुनिश्चित वातावरण तयार गरिदिने र करको दायरामा ल्याउँने नीति लिएको बताउनु भयो । ब्यापारका लागि उपयुक्त वातावरण नभई ब्यापारीले कर तिर्न नसक्ने उहाँको भनाई थियो । मेयर राईले कोरोना भाइरसका कारण दैनिक रोजगारी गरेर खाने श्रमजीवीहरूलाई नीजि क्षेत्रको साझेदारीमा खाद्यान्नको प्रबन्ध मिलाइएको समेत स्मरण गर्नुभयो ।
राजारानी पोखरीको सौन्दर्यकरणका लागि सङ्घीय सरकारले ६ करोड ९३ लाख र नगरपालिकाले २ करोड ६० लाख रुपियाँ विनियोजन गरेको बताउँदै उहाँले पर्यटन क्षेत्रमा वृहत सम्भावना रहेकोले नीजि क्षेत्रलाई त्यस तर्फ लाग्न आग्रह गर्नुभयो । उहाँले गुवाबारीबाट राजारानी सम्म केवुलकार चलाउन सकिने सम्भाब्यता अध्ययन भइसकेकोले अब नगरपालिका डिपिआर तयारीमा लागेको जानकारी गराउनु भयो । उद्योग वाणिज्य सङ्घ प्रदेश नं. १ का अध्यक्ष टीकाराम ढकालले उद्यमी ब्यावसायीलाई सरल कर्जा प्राप्तिका लागि वाणिज्य संघले पहल गर्नुपर्नेमा जोड दिनुुभयो । ढकालले भन्नुभयो – नगरपालिका र वाणिज्य संघको साझेदारीमा लेटाङको परापर्यटनलाई उद्योगको रुपमा सञ्चालन गर्न सकिन्छ । संघका प्रदेश नं. १ सदस्य कुमारमणि पोख्रेलले वाणिज्य सङ्घ दुई चार पैसा कमाउने भन्दा सामाजिक क्षेत्र पहिचान निर्माणमा जुट्नु पर्ने बताउनु भयो । जिल्ला तथा नगर शाखाका तर्फबाट बोल्दै उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष्ँ प्रितम खड्गीले होटल ब्यवसायकोृ सम्भावना बोकेको लेटाङका होटलले रैथाने खाद्यान्नमा ध्यान दिनुपर्ने बताउनु भयो । लेटाङको पहिचान झल्किने खाद्यवस्तुले लेटाङलाई संसार भर चिनाउन सकिने खड्गीको भनाई थियो ।
मोरङ ब्यापार सङ्घका बरिष्ट उपाध्यक्ष नवीन रिजालले नापतौलमा सामान्य कमी हुँदा ब्यापारीलाई जेल हाल्ने सम्मका सजायबाट मुक्त हुने कानूनको ब्यवस्था भइसकेको बताउनु भयो । उहाँले सरकार ३÷३ महिनामा कर उठाउँछ तर, विकास निर्माणको अवस्थाको विषयमा वर्ष दिनमा एक पटक पनि चासो राख्दैन । उहाँले करबाट उठेको पैसा उचित स्थानमा प्रयोग हुनु पर्ने माग गर्नुभयो । लेटाङ नगरपालिकाका वाड ३ का वडाध्यक्ष एवं पूर्व महासचिव देबराज चाम्लिङले सुनाखरीको राजधानी राजारानी पोखरीलाई विशेष क्षेत्र घोषणा गर्न माग गर्नुभयो । उहाँले ४३ जातका दुर्लभ सुनाखरी पाइने एक मात्र जङ्गल भएकोले यसको अध्ययनका लागि छुट्टै विद्यालय आवश्यक भएको उल्लेख गर्नुभयो ।
लेटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्गबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उद्योग सचिव कुवेरप्रसाद पौडेलले महासचिवको प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । सङ्घ आफ्नै सभाहलमा भएको साधारण सभामा वरिष्ट उपाध्यक्ष पशुपति विश्वाशले स्वागत भाषण गर्नु भएको थियो भने पूर्व अध्यक्षहरूका तर्फबाट हिक्मतबहादुर खड्काले बोल्नु भएको थियो ।
यसैबीच सोही कार्यक्रममा एक दशक देखि सङ्घको कार्यलय सहयोगी भएर काम गर्दै आउनु भएका कर्मचारी दामोदर सुबेदीलाई २ हजार ५ सय नगद सहित सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति: २०२१-०३-०८ , समय : २०:३२:५९ , ३ वर्ष अगाडि