चार्जिङ स्टेसन निर्माणको सम्झौता गरिँदै

Enepal Patra Pvt. Ltd. , ४९०  पटक हेरिएको

काठमाडौँ,१७  फागुुन । नेपाल विद्युत् प्राधिकरण विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माणको सम्झौता गर्ने अन्तिम तयारीमा छ ।
एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको एक हप्तामा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ । करिब ६० करोड रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डरको आह्वान भएको थियो ।

प्राधिकरणका विद्युतीय चार्जिङ स्टेसन परियोजना प्रबन्धक सागर ज्ञवालीले भन्नुभयो, “बोलपत्रको मूल्याकङ्न सकिएर सम्झौता गर्ने तयारी भएको छ, अब एक हप्तामा सम्झौता हुन्छ । ” उहाँका अनुसार देशभर ५० वटा स्टेसन निर्माणका लागि १३ वटा कम्पनीले परियोजना प्रस्ताव दिएका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एउटा चार्जरको मूल्य करिब ३० लाख रुपियाँ पर्छ ।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच÷पाँचवटा काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यकता भएका स्थानहरूमा राखिनेछ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटकमा तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् । ५० वटा स्टेसनलाई विद्युत् आपूर्तिको अवस्था हेरी सञ्चालन गरिँदै जाने प्राधिकरणको योजना छ ।

सुविधा सम्पन्न स्टेसन
चार्जिङ स्टेसन सुविधा सम्पन्न हुनेछन् । मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने छ । प्राधिकरणका अनुसार सवारी साधन चार्ज गर्ने अवस्थामा पुगेपछि पालो कुरेर बस्नु पर्दैन । सवारी साधनले आफ्नो सुविधाअनुसार पहिल्यै मोबाइल एप्सबाट समय बुक गर्ने व्यवस्था मिलाइने भएको छ ।

चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्ने छ । कति मिनेटसम्म वा कति रुपियाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाटै हुनेछ । स्टेसनमा यात्रुहरू फ्रेस हुन खेल तथा खाना, खाजाको व्यवस्था हुनेछ । खाजा खाना खाने समयमा जार्च गर्न सकिने भएकाले यात्राको समय बढी खर्च हुँदैन ।

प्राधिकरणले चार्जिङ स्टेसन निर्माण लागि एक वर्षअघि स्थानहरू उपलब्ध गराउन सूचना जारी गरेको थियो । पार्क, सपिङ मल तथा खुला स्थानहरूमा चार्जिङ स्टेसन निर्माण गरिने बताइएको छ । स्टेसन निर्माणका लागि जग्गा उपलब्ध भइसकेको र केही सपिङ मल तथा होटलहरू तयार रहेको प्राधिकरणले जनाएको छ । सम्झौता भएको छ महिनामा निर्माण कार्य सकिनेछ ।

प्रकाशित मिति: २०२१-०३-०१ , समय : ११:५४:३६ , ३ वर्ष अगाडि