Enepal Patra Pvt. Ltd. , ६१९ पटक हेरिएको
लेटाङ, ३ फागुन । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास प्रारम्भिक तालिम सुरु भएको छ । निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको हो । तालिमलाई उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेलले सहजीकरण गरिरहनुभएको छ ।
स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो ।
दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा प्रदेशभरका पाँच जिल्लामा तालिम आयोजना गरेको संयोजक निलम ढुंगेलले जानकारी दिनुभयो ।
संस्थाले मोरङको लेटाङमा शनिबार देखि चार दिनको तालिम सुरु गरेको छ । लेटाङ नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधि तालिममा सहभागी रहेको संयोजक ढुंगेलले बताउनुभयो । तालिमको नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले उद्घाटन गर्नु भएको थियो ।
प्रदेश १ का झापा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगामा यो तालिम सञ्चालन भईरहेको ढुंगेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२१-०२-१६ , समय : १२:१५:३३ , ५ वर्ष अगाडि