–मोहम्मद सदरुल
विराटनगर, ५ माघ।  ‘दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने तथ्यलाई आम नागरिकले ग्रहण गर्नसकेमा प्रदेश नं १ बाट ‘मिल्क होली डे’ समाप्त हुने अवस्था छ । शरीरका लागि अत्यधिक पोषिलो र लाभदायक मानिने दूध र दुग्धजन्य पदार्थको सेवनमा पछिल्लो समयमा मानिसहरु थप आकर्षित भएको पाइएको छ । आमनागरिकमा साकाहारी बन्ने र अर्गानिक खानेकुराको सेवन गर्ने बानीको विकास भएसँगै दूधको सेवन पनि बढ्न थालेको यस क्षेत्रका किसानको अनुभव छ ।

दूधबाट बन्ने परिकारतर्फ आकर्षित हुँदै मानिसहरुले पछिल्लो समयमा दूधभन्दा पनि दुग्धजन्य पदार्थहरु जस्तै दही, मिठाइ, पनिर, घिउमा अझ बढी जोड दिन थालेको पाइएको छ । दूध सेवन नगर्ने मानिसहरुले पनि चाडपर्वमा विभिन्न परिकार बनाउनका लागि दूधको प्रयोग भने गर्ने गरेको छन् । यसैकारणले पनि सो समयमा बजारमा दूध अभाव हुने गरेको पनि पाइएको छ ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका प्रदेश सरकारले गएको वर्षमा कृषि क्षेत्रको विकास गर्न रु ६१ करोड बजेट विनियोजन गरेको थियो । कृषकको हकहितका लागि आवश्यक निजी, सार्वजनिक र सहकारी अवधारणलाई अगाडि बढाएर कृषिजन्य उत्पादनको मात्रा बढाउने र यस प्रदेशमा कृषिको विकास गर्ने अवधारणा प्रदेश नं १ सरकारको रहेको छ ।

प्रदेश नं १ मा दूधमा देखिएको मिल्क होलि डे समस्यालाई समाधान गर्न दुग्धको पाउडर प्लान्ट बनाउने उद्देश्य लिएको प्रदेश सरकारले सुनसरीको तरहरामा यससम्बन्धी एक बृहत् आयोजना स्थापना गर्न लागेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । कूल रु ३२ करोडको लागतमा निर्माण गरिने सो आयोजनाका लागि प्रदेश सरकारले रु २० करोड अन्य रकम निजी वा सहकारी माध्यमबाट व्यहोर्ने पशुपक्षी महाशाखाका प्रमुख पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले यसका लागि विशिष्टिकृत सहकारी सङ्घ गठन भइसकेकाले अब छिट्टै यो परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने बताउनुभयो । प्रदेश सरकारले यो सङ्घसँग सम्झौता गर्ने अवस्थामा परियोजनाको निम्ति आवश्यक गृहकार्य भइरहेको धारणा राख्नुभयो ।

विगतमा कृषकले उत्पादन गरेको दूध बिक्री नहुने र किसानहरुले आयआर्जनका लागि गरेको पशुपालनबाट उत्पादित दूध बिक्री नहुँदा पेशा वा व्यवसायप्रति कृषकको मोह हट्ने भएकाले सरकारले पाउडर प्लान्टको अवधारणा ल्याएको छ । यो पाउडर प्लान्टले कृषकको दूध बिक्री नहुने समस्यालाई अन्त्य गर्ने विश्वास प्रदेश सरकारको रहँदै आएको छ ।

कामधेनु दुग्ध विकास सहकारीका व्यवस्थापक कृष्ण घिमिरेले उपभोक्ताको मागभन्दा ३० हजार लिटर दूध यस प्रदेशमा बढी भइरहेकाले दुग्धलाई खेर जान नदिन पाउडर प्लान्टको आवश्यकता छ र यो आवश्यकतालाई पूरा गर्न सरकारले पाउडर प्लान्ट बनाउने योजनालाई मूर्त रुप दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सोही सहकारीका कार्यकारी निर्देशक गजेन्द्र बस्तीले १५ हजार लिटर दुग्ध दैनिक प्रशोधित हुने कामधेनुलाई अझ सेवा विस्तारमा लागेको जानकारी दिनुभयो । उहाँले हामीलाई सुनसरी, झापा, इलाम, धनकुटा र मोरङका कृषकबाट दुग्ध प्राप्त हुन्छ भन्नुभयो ।

कृषि उत्पादनलाई बढावा दिन आयातित हुने वस्तुमा नियन्त्रण हुनुपर्ने सहकारी पदाधिकारीको भनाईप्रति मन्त्रालय पनि सहमत भएपनि विदेशबाट भने दूधको पाउडर आउन रोकिएको छैन । यसले गर्दा विदेशी यस्ता दुग्धको गुणस्तर नहुने र सस्तोमा बजारमा पाउँदा उपभोक्ता पनि त्यही खरिद गर्ने भएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन् ।

दुग्ध होली डेलाई समाप्त पार्न विराटनगरस्थितका दुग्ध विकास संस्थानले पनि पाउडर प्लान्ट सञ्चालन गरेको छ । बन्दाबन्दी भन्दा केही समय पहिले शुरु भएको पाउडर प्लान्टमा दैनिक छ मेट्रिक टन उत्पादन हुने गरेको प्रमुख गणेश यादवले जानकारी दिनुभयो । दुग्ध, घिउ, पनिर, दही, पेडा, लस्सीसमेत उत्पादन गरेर बिक्रीवितरण गरेको संस्थानको उत्पादनको बजार सुरक्षित राख्नु विदेशी वस्तु आयातमा रोक लगाउनुपर्ने धारणा प्रमुख यादवले राख्नुभयो । यस क्षेत्रमा एक सरकारीसहित १८ वटा दुग्ध सहकारी संस्था रहेका छन् । सोमध्ये पाँच वटा मोरङमा नै रहेको बताइएको छ ।

खाद्य निर्देशिका–२०७५ लागू भएमा सबै स्वदेशी लगानी वा विदेशी लगानीबाट स्थापित उत्पादन केन्द्रहरु आफैँ नियमनमा आउने र स्वदेशी उत्पादनले राम्रो बजार पाउनसक्ने यस क्षेत्रमा कार्यरत मानिसहरुको भनाइ छ ।

दुग्ध विकास संस्थानले दैनिक ३५ हजार लिटर दुग्ध प्रशोधन गरी बिक्री वितरण गर्ने गरेको प्रमुख यादवको भनाइ छ । पाउडर प्लान्ट निर्माण गर्न संस्थानले रु सात करोडभन्दा बढी खर्च गरेको छ ।

प्रदेश नं १ मा चार वटा चिज उत्पादन केन्द्र र आठ वटा दुग्ध चिस्यान केन्द्र इलाममा रहेका छन् । दुग्ध विकास संस्थानले बाक्लो दूध प्रतिलिटर रु ९२ र पातलो दूध प्रतिलिटर रु ७६ का दरले बिक्री गरेको छ भने संस्थानले आफ्नै परिसरभित्र आफना उत्पादन उपभोक्तालाई खुलारुपमा बिक्री वितरण गरिरहेको छ ।

प्रदेश नं १ मा वार्षिक तीन लाख ८४ हजार २७६ लिटर दुग्ध उत्पादन हुने गरेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । जसमा दुई लाख ८८ हजार १६० वटा गाईबाट एक लाख ७१ हजार ९३० लिटर र दुई लाख २६ हजार ७८३ भैँसीबाट दुई लाख १२ हजार ३४७ लिटर दूध वार्षिकरुपमा उत्पादन हुने गर्दछ । देशको कूल उत्पादनमा प्रदेश नं १ ले २० दशमलव सात प्रतिशत योगदान दिएको मन्त्रालयको तथ्याङ्क छ ।

दूधमा आत्मनिर्भर यो प्रदेशमा गाईको दूधको उत्पादनको २६ दशमलव सात प्रतिशत र भैँसीको दूधको उत्पादन देशको कूल भैँसीको दूध उत्पादनको १५ दशमलव पाँच प्रतिशत योगदान रेहको छ ।

जिल्लागतरुपमा हेर्दा दूध दिने गाईको सङ्ख्या सुनसरी, मोरङ, झापा तथा इलाममा बढी छ भने दूध दिने भैँसीको सङ्ख्या सुनसरी मोरङ र उदयपुरमा बढी छ । यस प्रदेशमा गाईको दूध उत्पादनमा झापा, इलाम र भैंसीको दुध उत्पादनमा मोरङ, सुनसरी र झापा अगाडि छन् ।

अहिले बजारमा खुल्ला दूध पनि बिक्री वितरण भइरहेको पाइएको छ । यस्ता दूध विना प्रशोधित रहेकाले यसको सेवनबाट मानिसहरुको स्वास्थ्यमा समस्या आउने, विभिन्न रोगको शिकार बन्ने भएकाले यसतर्फ उपभोक्ता सचेत हुनुपर्ने कृषि निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले बताउनुभयो । उहाँले उपभोक्ताले जहिले पनि प्रशोधित दूध नै खानुपर्ने भएकोले यस विषयमा उपभचोक्ताहरुमै व्यापकमात्रामा चेतना जगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बजारमा पाउने सस्तो पाउडर दूधको गुणस्तर निकै नै कमजोर रहने भएकाले यसतर्फ उपभोक्ता सचेत हुनुपर्ने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता रामचन्द्र उप्रेतीले बताउनुभयो । सुनसरी गढी गाउँपालिकाअन्तर्गत छपकी निवासी तपेश्वर यादवले विगत ३० वर्षदेखि गाउँमा दूध सङ्कलन गरेर उपभोक्ताको घरघरमा पु¥याउनुहुन्छ । उहाँले प्लास्टिक तथा टिनको बाल्टिनमा दूध हालेर उपभोक्तालाई बिक्री गर्दा व्यापार त चलेको छ तर उहाँको खुला दूध स्वास्थ्यका लागि हानिकारक छ भन्ने ज्ञान उहाँमा छैन । उहाँ जस्तै हजारौँ मानिसले खुला दूध बेचरे जीविकोपार्जन त गरिरहेका छन् तर त्यसबाट हुने खतराबाट सचेत रहनका लागि सरकारले नियम लगाउँदा कृषकहरुले आफ्नो दूध बिक्री भएन भनेर विरोधस्वरुपमा बाटोमा खन्याउने गरेका पनि देखिएको छ । उनीहरुको यस कार्यबाट सरकारलाई भने नियम निर्माण गर्न तथा त्यसको कार्यान्वयन गर्न नै मुस्किल परिरहेको अवस्था आएको बताइएको छ ।

मोरङको मोतिपुर गाउँमा स्थापित भगवती दूध डेरी उद्योगले स्थानीयस्तरबाट लगभग २०० लिटर दूध सङ्कलन गरी उपभोक्तालाई खुलारुपमा बिक्री गरिरहेको छ । यो डेरीले खुला दूध प्रतिलिटर रु ७० मा डिलरलाई बिक्री गर्ने गरेको र डिलरले रु ७५ प्रतिलिटरमा उपभोक्तालाई बिक्री गरिरहेको बताएको छ । आफूहरुले बिक्री गर्ने गरेको दूध खुला भए पनि गुणस्तरमा कुनै कमी नभएकाले माग बढिरहेको सो डेरीका सञ्चालकको भनाइ छ । यस्तो अवस्थामा मोरङकै सुन्दर हरैँचामा सञ्चालनमा रहेको दूध डेरी उद्योगबाट दूध खरीद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको भगवती दुग्ध डेरीका सञ्चालक ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.