कांग्रेस सहमहामन्त्री महतले भने,कम्युनिष्ट सरकार पुरै असफल भयो

Enepal Patra Pvt. Ltd. , ५३९  पटक हेरिएको

उर्लाबारी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् ।
मोरङको उर्लाबारीमा कांग्रेस कार्यकर्ता भेटघाटका क्रममा उनले  सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, कम्युनिष्ट नेताहरु आफै विवाद र लुटमा फसेर जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’
नेपाली कांग्रेस मोरङ १ का सभापति खड्ग बहादुर फागोको सभापतित्वमा आयोजित कार्यक्रममा उनले पार्टभित्र गुट र उपगुट तल्लो तहबाट त्याग्नु पर्ने बताए । उनले भने, पार्टीको गुट उपगुट तल्लो तहदेखी नै समाप्त पार्न आवश्यक छ , तर पार्टीको निर्देशन गतिविधी भन्दा बाहिर जानेलाई कारवाही गरिनुपर्छ ।

महतले देशमा भ्रष्टाचारले सगरमाथाको जस्तै उचाइ लिएको आरोप लगाए । ‘यो सरकार काण्डै–काण्डमा फसेको छ, पहिला त गल्ती गर्दा कारबाही हुन्थ्यो, तर अहिले त सरकारले नै संरक्षण दिन्छ,’ उनले भने, ‘देशमा भ्रष्टाचारले सगरमाथाको जस्तै उचाइ लिएको छ ।’
उनले कांग्रेसले यस अघिदेखि नै सरकारलाई लगाउँदै आएको आरोप नेकपाकै शीर्ष नेताले प्रमाणित गरिदिएको दाबी गरे । उनले नेकपा नेतृत्वको सरकार र पार्टी जनताको पक्षमा नरहेको दाबी गरे । ‘
झण्डै डेढ सय कार्यकर्ता सहभागिता रहेको कार्यक्रममा नेपाल महिला संघ केन्द्रिय सदस्य शोभा पालुङ्वा, नेपाली कांग्रेस मोरङ १ क का उपसभापति टिकाराम राई, तरुण दल उपसभापति रोहित कार्की, सचिव राजन रायमाझी ,युवा नेता लोलिम पोमु लगायत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२०-१२-१६ , समय : ११:४३:२३ , ३ वर्ष अगाडि