धुलो र हिलोले सास्ती

Enepal Patra Pvt. Ltd. , ३३३  पटक हेरिएको

परासी, २२ मङ्सिर । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित मुख्य बजारमा शुरु गरिएको सडक विस्तारको काम तीन वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । सघन शहरी विकास कार्यक्रम अन्तर्गत १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी परासी बुद्धचोकदेखि निलोगेटसम्मको जम्मा डेढ किलोमिटर सडक चार लेनमा विस्तार गर्ने गरी काम थालिएको थियो ।

समयमै निर्माण सम्पन्न नहुँदा सडकको धुलो र हिलोका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । समयमा निर्माण पूरा गर्न नसकेपछि विभिन्न कारण देखाउँदै आयोजनाको म्याद तीन पटकसम्म थपिएको छ । अहिले यही पुस मसान्तभित्र निर्माण सकिसक्नुपर्ने अन्तिम म्याद छ । “जिल्ला सदरमुकामकै बाटोे लामो समयदेखि अलपत्र छ, जिम्मेवार निकायको ध्यान गएको छैन्, तीन वर्षदेखि नबनेको सडक अव एक महिनामा बन्छ भन्नेमा हामीलाई विश्वास छैन्, स्थानीयवासीले कहिलेसम्म धुलो र हिलोको सास्ती भोग्नुपर्ने हो ”, स्थानीयवासी शम्भु उपाध्यायले भन्नुभयो ।

कालोपत्र गर्ने भन्दै तीन महिनादेखि सडकमा गिट्टी लथालिङ्ग छाडिएको छ । सडक पेटी र छेउछाउमा हुने काम पनि अधुरै छ । सडकको धुलो नियन्त्रण गर्न भन्दै पानी हालिन्छ । पानी हाल्दा हिलो र सुकेपछिको धुलोले यात्रुदेखि स्थानीय सर्वसाधारण दिनहुँ सास्तीमा छन् ।

निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था विजोग देखिएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय चितवनको सुपरिवेक्षणमा निलोगेटदेखि बुद्धचोकसम्मको एक हजार ४२८ मिटर लम्बाइको सो सडक विस्तार महालक्ष्मी÷सुनकोशी÷वल्र्ड वाईड जेभी कन्र्टक्सन काठमाडौँले निर्माणको जिम्मा लिएको छ ।

कूल रु १५ करोड ९७ लाखको लागतमा विस्तार भइरहेको उक्त सडक विस्तारको नियमित अनुगमन र सहजीकरण गर्ने जिम्मा स्थानीय तह रामग्राम नगरपालिकाको पनि रहेको भवन डिभिजन कार्यालयका इन्जिनीयर माधव कटुवालले बताउनुभयो ।
शुरुमा रुख कटानको अनुमति लिन ढिलाइ भएको र त्यसपछि कोरोना महामारीको कारण देखाउँदै निर्माण पक्षले सडक विस्तारमा ढिलासुस्ती गर्दै आएको छ । सडकमा कालोपत्रका लागि अन्तिम आधार बनाउने कार्य भइरहेको र अवको दुुई महिनामा कालोपत्र सम्पन्न हुने इन्जिनीयर कटुवालले दावी गर्नुभयो । उहाँका अनुसार उक्त सडकको चौडाई सय फिट अर्थात ५०÷५० फिटमा चार लेनको निर्माण हुनेछ । सडकमा डिभाइडर र छेउमा नाली राखिनेछ । डिभाइडरको दुवैतर्फ दुई÷दुई लेनको बाटो र रेलिङसहितको फुटपाथ निर्माण हुनेछ ।

सडकको दुवैतर्फ नाला र फुटपाथ, सर्वसाधरणका लागि स्टील पाइप रेलिङ, सोलार बत्ती, ‘क्याट आई’ राखिनेछ भने कालोपत्रे, सडक पेटी रङरोगन, पेन्टिङ र ‘टिक ड्रेन’ निर्माण हुनेछ । “कालोपत्र निर्माणका लागि प्लाण्ट स्थापना गर्ने ठाउँको अभावमा केही समय काम अवरुद्ध भएको हो, हामीले त्यसका लागि जग्गा निश्चित गरी प्लाण्ट स्थापनाको तयारी गरिसकेका छौँ, अव एक हप्ताभित्रै निर्माणले गति लिन्छ”, इन्जिनीयर कटुवालले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सडक विस्तारको कामलाई तीव्रता दिन आफूले ताकेता गरिरहेको उल्लेख गर्नुभयो । “ताकेता गर्दा अलिअलि काम गरेजस्तो गर्ने अनि फेरि बन्द गर्ने भइरहेको छ, कार्यान्वयन गर्ने कार्यालय स्थानीयस्तरमा नहुँदा पनि समस्या छ, मैले दबाब दिइरहेको छु”, उहाँले भन्नुभयो । रामग्राम नगरपालिकाका अनुगमन समिति संयोजक एवं उपप्रमुख रम्भा कुँवरले निर्माण पक्षसँग समन्वय र दबाव दिने काम भइरहेको बताउनुभयो । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तराई–मधेशका २० जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रूपमा विकास गरी आधुनिक शहरमा रूपान्तरण गर्ने मुख्य उद्देश्यसहित अघि सारिएको सदरमुकम विकास कार्यक्रम अन्तर्गत परासीमा यो सडक निर्माण थालिएको थियो । तर सदरमुकामकै सडक लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासीले अझै सास्ती भोग्नुपर्ने अवस्था देखिएको भन्दै आक्रोसित छन् ।

प्रकाशित मिति: २०२०-१२-०७ , समय : १४:५९:५३ , ३ वर्ष अगाडि