प्रधानमन्त्री ओलीले राजीनामा दिनु मुलुकको हितमा छैन

Enepal Patra Pvt. Ltd. , ५५१  पटक हेरिएको

लक्की चौधरी
काठमाडौं, १६ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पद, व्यक्तिगत स्वार्थ र गुटगत घरझगडा मात्र भएकाले त्यसलाई पार्टीको आन्तरिक छलफलबाटै समाधान गर्न सकिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुझाव दिनुभएको छ । “समस्या समाधानमा जति ढिलाइ हुन्छ, त्यति नै प्रतिगामी शक्तिहरुले टाउको उठाउने अवसर पाउँछन्” उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

गोरखापत्र अनलाइनसँग सोमबार कुरा गर्नुहुँदै अध्यक्ष केसीले दुई अध्यक्षको अलग–अलग राजनीतिक प्रस्ताव आउनु कम्युनिष्ट पार्टीका लागि ‘दुर्भाग्यपूर्ण’ रहेको बताउनुभयो । “घरभित्रको आन्तरिक झगडा छताछुल्ल पारेर ‘जग हँसाउने’ काम नेकपाले गरेको छ, उसको झगडाकै कारण प्रतिगामी शक्ति सल्बलाउन थालेका छन्” उहाँले भन्नुभयो ।

“मूल समस्या दुई अध्यक्षको अलग प्रतिवेदन आउनु हुँदै होइन, मूल समस्या हो व्यक्तिगत स्वार्थ, टकराव र गुटगट राजनीति, त्यहीकारण दुई वटा प्रतिवेदन आयो” अध्यक्ष केसीले भन्नुभयो, “प्रतिवेदन दुवै अध्यक्षले फिर्ता लिएर सहमतिको नयाँ प्रस्ताव आएमात्र नेकपाको विवाद समाधान हुन्छ ।” सच्चा कम्युनिष्ट पार्टीमा यस्तो गुट, स्वार्थ र पदको टकराव कल्पनै गर्न नसकिने उहाँले बताउनुभयो ।

नेकपा अहिले नै कम्युनिष्ट पार्टी भइसकेको छैन, नाम राख्दैमा कोही कम्युनिष्ट हुन्छ रु अध्यक्ष केसीले भन्नुभयो, “न कम्युनिष्ट चरित्र छ, न त कुनै आचरण । देश र जनतालाई केन्द्रमा राखेर छलफल गर्ने हो भने समस्या तत्काल समाधान हुन्छ ।” ‘धन नहुनेलाई धनीराम, बल नहुनेलाई बलराम’ भनेजस्तै अहिले कम्युनिष्ट पार्टीहरु भएका छन् उहाँले भन्नुभयो ।

नेकपाभित्रको विवादकै कारण अहिले सडकमा राजतन्त्र व्यूँताउने जुलुस दिनका दिन निस्कन लागेको बताउनुहुँदै अध्यक्ष केसीले भन्नुभयो, “नेकपा अहिले मुलुकको मुख्य शक्ति हो, जनताले भरोसा गरेको शक्ति हो, यो कमजोर भयो भने मुलुकको परिवर्तन र गणतन्त्र जोगिदैन ।” नेकपा अहिले मुलुकको गणतन्त्र र लोकतन्त्रको आत्मा भएकाले देश र जनताका लागि भए पनि मिल्नुपर्छ उहाँले भन्नुभयो ।

“नेकपाको विवाद नेकपा आफैले सल्टाउने हो, कोही बाह्य शक्ति आएर सल्टाइदिन्न, बाह्य शक्तिले त झन उचाल्ने र पछार्ने भूमिका खेल्छ” अध्यक्ष केसीले भन्नुभयो, “आन्तरिक विषयमा अरुलाई खेल्ने अवसर नदिउँ, जनता सामु गरिएका प्रतिबद्धता पूरा गरौं, गणतन्त्रलाई धरापमा नपारौं ।” जनताको भरोसा तोड्ने काम नेकपाले गरेमा उसलाई इतिहासले माफी नदिने केसीले बताउनुभयो ।
नेकपाको आन्तरिक झगडाले दक्षिणपन्थी शक्तिहरु खुशी भएको बताउनुहुँदै अध्यक्ष केसीले नेकपालाई कसैबाट समस्या छ भने पार्टी भित्रैबाट छ, प्रतिपक्षी दलबाट नरहेको तर्क गर्नुभयो । मुलुकमा आएको गणतन्त्र धेरैलाई नपचेको चर्चा गर्नुहुँदै अध्यक्ष केसीले भन्नुभयो, “नेकपालाई फुटाएर मुलुकको गणतन्त्र लखेट्न सकिन्छ भन्ने प्रयासमा प्रतिगामी शक्तिहरु सक्रिय हुन थालेका छन् ।”

छिमेकी मुलुकले समेत नेपालमा हिन्दू राष्ट्र कायम गर्न खोजेको कुरा कसैबाट नछिपेको चर्चा गर्नुहुँदै अध्यक्ष केसीले धर्म निरपेक्षता, गणतन्त्र, राष्ट्रियता र अहिलेको परिवर्तन जोगाउने हो भने नेकपा बलियो बन्नैपर्छ भन्नुभयो । नेकपा फुट्नु भनेको देशको लोकतन्त्र र गणतन्त्र फुट्नु हो उहाँले प्रष्ट पार्नुभयो । मुलुकमा आर्थिक समृद्धि ल्याउने वाचा गरेर जनताबाट मत संकलन गरेर सत्ता र पद स्वार्थमा केन्द्रित हुन नेकपाका नेताहरुलाई नैतिकताले पनि नमिल्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले पदबाट राजीनामा दिनु मुलुकको हितमा नभएकाले नेकपाका नेताहरुले सुझबुझपूर्ण निर्णय गर्ने आशा व्यक्त गर्नुभयो । “अहिले न प्रधानमन्त्रीले राजीनामा दिइहाल्नु उपयुक्त छ, न त पार्टी नेतृत्व युवा पङ्तिमा सार्नु उचित छ” अध्यक्ष केसीले भन्नुभयो, “नेकपाभित्रका युवा पनि गुटगत क्रियाकलापमा बाँडिएका छन्, नेतृत्वकै पथ समाटेका छन्, नेतृत्व हस्तान्तरण गर्दैमा यो समस्या समाधान हुने होइन ।”

“आफ्नै पार्टीका नेताहरुसँग बर्ग शत्रुताभन्दा कडा शत्रुता राख्नु शोभनीय होइन, यस्तो शत्रुताले कसैलाई लाभ गर्दैन” अध्यक्ष केसीले भन्नुभयो, “छातीमा हात राखेर जनतासामु गरेका चुनावी वाचा र प्रतिवद्धता सम्झनुहोस्, अनिमात्र आफ्नो स्वार्थको कुरा गर्नुहोस् ।” नेकपा अहिले मुलुकको सबैभन्दा ठूलो शक्ति भएकाले अरु कुनै शक्तिले नेकपालाई कमजोर पार्न नसक्ने उहाँले बताउनुभयो । “नेकपा सकिन्छ भने आफ्नै आन्तरिक किचलो र शक्ति क्षयीकरणले, बाह्य शक्तिले यसको केही बिगार्न सक्दैन” उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २०२०-१२-०१ , समय : ०६:५३:०३ , ३ वर्ष अगाडि