बोर्डिङ स्कुलमा तस्करी गरि ल्याएको १ सय २० बोरा मटर बरामद

Enepal Patra Pvt. Ltd. , ३५१  पटक हेरिएको

देवानगञ्ज ९ मंसिर । सुनसरी प्रहरीले एक बोर्डिङ स्कुलमा छापा मारी लाखौं मूल्य बराबरको मटर बरामद गरेको छ ।देवानगञ्ज गाउँपालिका वडानम्बर २ स्थित दिव्यज्योति बोर्डिङ स्कुलमा सुनसरी प्रहरीले सोमबार दिउँसो छापा मार्दा सो मटर बरामद गरेको हो ।

जिल्लाको दक्षिणवर्ती नाकाबाट तस्करी भइरहेको सूचना आएपछि तस्करी नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले निजी स्कुलबाट बेवारिसे अवस्थामा १ सय २० बोरा मटर बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । खुला सीमाका कारण भारततर्फ मटर तस्करी भइरहेकोे गुनासो आइरहेको बेला प्रहरीले ६ लाख मूल्य बराबरको मटर बरामद गरेको हो ।

विराटनगर, इनरुवासहितका बजारबाट सीमावर्ती क्षेत्रसम्म मटर ल्याई भण्डारण गरेर तस्करहरूले मोटरसाइकल र साइकलमा भारततर्फ तस्करी गराउने गरेका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदासमेत सीमावर्ती क्षेत्रमा तस्करी हुने क्रम नरोकिएको स्थानीयको दाबी छ । संवेदनशील मानिएको सीमावर्ती क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणका साथै चोरी–पैठारी नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिए पनि उनीहरूले तस्करी रोक्न नसकेको जनगुनासो व्याप्त छ ।

जिल्लाको दक्षिणवर्ती नाका हुँदै भारततर्फ मरिच, मटर, मदिरा, सुपारी तस्करी हुने गरेको छ भने उत्ताबाट विभिन्न आइटमका कपडा, किराना सामान, चिनी, इलेक्ट्रोनिक्स सामान, सुर्ती, रजनीगन्धा भित्रिँदै आएको स्थानीयको दाबी छ । खुला सीमाका कारण पूर्णरूपमा तस्करी नियन्त्रण गर्न असम्भव रहेको प्रहरीको भनाइ छ । राजस्व चुहावट नियन्त्रण गर्न सुनसरी प्रहरीले कडाइ गर्दा काम गर्न नपाउँदा केही व्यक्तिहरूले प्रहरीलाई बदनाम गर्ने नियतले निराधार आरोप लगाउने गरे पनि सुनसरी प्रहरी तस्करी नियन्त्रण गरिछाड्ने अभियानमा लागेको एसपी थापाको भनाइ छ ।

तस्करीको मामिलामा कुनै सम्झौता नगरिने दाबी गर्दै उनले ६ महिनाको अवधिमा लगभग २ करोड मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको बताए । आफ्नो कार्यकाल अवधिमा सुनसरीमा तस्करीका साथै आपराधिक गतिविधि नियन्त्रण गरिछाड्ने एसपी थापाको दाबी छ ।

प्रकाशित मिति: २०२०-११-२४ , समय : १३:०२:३७ , ३ वर्ष अगाडि