भूवा खोलामा पक्की पुलको शिलान्यास ,२ वर्षमा निर्माण सम्पन्न हुने

Enepal Patra Pvt. Ltd. , १९२५  पटक हेरिएको

लेटाङ(मोरङ),२० कात्तिक । लेटाङसँग उत्तरी मोरङका गाउँहरूलाई जोड्ने भुवाखोलामा पक्की पुलको शिलान्यास भएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उप प्रमुख कृष्णकुमारी पोख्रेलले बिहीबार संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभयो । कोरोना कहरका बीचमा नगर प्रमुख र उप प्रमुखले पुलको शिलान्यास गर्नुभएको हो । पूल बने भएपछि उत्तरी मोरङका गाउँ सहित धनकुटा र पाँचथरका बासिन्दाले छोटो यात्रा गरेर पुर्व पश्चिम राजमार्गको कानेपोखरी पुग्न सहज हुनेछ । गुराँस फूल्ने हिमाल देखि औलो लाग्ने तराईको भूगोल समेटिएको लेटाङ नगरपालिको वडा नं. ७ भुवा खोलामा पुल नहुँदा वर्षायामका ४ महिना नगरपालिकासँग सम्पर्क बिहीन जस्तै हुने गरको छ । खोला वारिपारी सडक निर्माणाधीन अवस्थामा छ । हिउँदमा चिसाङ खोलाको किनारै किनार यातायात सञ्चालन भएपनि वर्षायाममा पैदल यात्रा तय गर्नुको विकल्प थिएन ।
बिहीवार भुवा खोलामा पक्की पुलको शिलान्यास गरेपछि नगर प्रमुख शङ्कर राईले पुल निर्माण भएपनि नगरका सबै वडा नगरपालिका कार्यालयसँग सडक सञ्जालले जोडिने बताउनु भयो । उहाँले पुल नहुँदा वर्षौं देखि विद्यार्थी , भरियाले दुख खेप्नु परेको बताउँदै उहाँले भुवा खोलाको पुल नगरको गौरवको आयोजना भएको बताउनु भयो । पुल बनेपछि उत्तरी मोरङका सबै गाउँको स्वास्थ्य र शिक्षामा समेत पहुँच पुग्ने नगर प्रमुख राईको भनाई छ ।
उप प्रमुख कृष्णकुमारी पोख्रेलले भन्नुभयो–लेटाङको विकासका लागि यो पुल कोशेढुङ्गा सावित हुनेछ । उत्तरी मोरङमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई किसानले सहजै बजार सम्म ल्याउँन सक्नेछन् । आन्तरिक र वाह्य पर्यटकका लागि बाह्रै यातायात सञ्चालन हुनेछ । उप प्रमुख पोख्रेलले पुल समयमा नै बनिसक्ने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहालले भुवा खोलामा बन्ने पक्की पुल ५ करोड ५१ लाख ८८६ रुपैयाँमा ठेक्का लागेको बताउनु भयो । नगरको गौरवको योजनाका रुपमा लिइएको उक्त पुल एपेक्स जोसी जेभी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । गत जेठ १४ गते निर्माण कम्पनी र नगरपालिका बीच पुल निर्माणको सम्झौता भएको हो । २०७९ सालको जेठ ८ गते निर्माण कम्पनीले नगरपालिकालाई पुल हस्तान्तरण गर्नु पर्नेछ । पुल निर्माणका लागि नगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ भने प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको छ । पुल ७ मिटर चौडाई र ५१ मिटर लम्बाईको बन्नेछ ।

प्रकाशित मिति: २०२०-११-०५ , समय : १७:३९:२१ , ३ वर्ष अगाडि