कानेपोखरी बारुणयन्त्र सञ्चालन गर्ने मोरङको पहिलो गाउँपालिका

Enepal Patra Pvt. Ltd. , ९४४  पटक हेरिएको

कानेपोखरी(मोरङ) , ३० असोज । प्रदेश नं.१ को मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम अन्तरगत मोरङको कानेपोखरी गाउँपालिकाले बारुणयन्त्र र प्रहरी गस्ती भ्यान उपहार स्वरुप प्राप्त गरेको छ । मोरङमा बारुणयन्त्र सञ्चालन गर्ने कानेपोखरी पहिलो गाउँपालिका हो ।
बिहीबार मुख्यमन्त्री कार्यालयबाट प्राप्त भएका दुबै सवारी साधनको शुक्रबार गाउँपालिकाले पूजा अर्चना गरी सेवा सम्बन्धी जानकारी गराएको छ । गाउँपालिका परिसरमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शुक्रबार नै प्रहरी चौकी रमाइलोलाई प्रहरी भ्यानको साँचो हस्तान्तरण गर्नुभयो । २०४५ सालमा स्थापना भएको रमाइलो प्रहरी चौकीले हाल सम्म मोटरसाइल र साइकलबाट सुरक्षा दिँदै आएको थियो । साँचो हस्तान्तरण एवं वारुणयन्त्र पूजा अर्चना कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले बारुणयन्त्र र प्रहरीका लागि गस्ती भ्यान प्राप्त हुनु पनि सङ्घीयताको उपलब्धि भएको बताउनु भयो । उहाँले अबका ४÷५ महिना पछि गाउँबासीको मृत्यु हुँदा घर देखि घाट सम्म शव वाहनको सुविधा र औषधोपचारका लागि एम्बुलेन्सको सुबिधा उपलब्ध गराइने बताउनु भयो । सिमित स्रोत साधनका बाबजुद बिकास निर्माणका काम पनि भइरहेको बताउँदै अध्यक्ष काफ्लेले एम्बुलेन्स, शव बाहन, बारुण यन्त्र र प्रहरीको गस्ती भ्यानबाट े गाउँबासी जनप्रतिनिधि आएको अनुभूति गर्न पाउने उल्लेख गर्नुभयो । अतिविपन्नका खरको छानो हटाएर जस्ता लगाउने कार्यक्रम समेत निरन्तर चलिरहेको उहाँको भनाई थियो ।
बारुणयन्त्र प्राप्त भए पनि त्यसको सञ्चालन सम्बन्धी बिधि भने तयार भइ नसकेको अध्यक्ष काफ्लेले बताउनु भयो । कार्यबिधि निर्माण गरी गाउँ कै म्यादी प्रहरीलाई तालिम दिई बारुणयन्त्रको सञ्चालन गर्न १२ लाख रुपियाँ विनियोजन गरिएको उहाँको भनाई थियो ।
पूजा अर्चना कार्यक्रममा नेकपाका अम्बिकाप्रसाद अर्याल र नेपाली कांग्रेसका त्रिभुनाथ फयलले शुभकामना दिनु भएको थियो ।

प्रकाशित मिति: २०२०-१०-१७ , समय : ०६:१५:४२ , ४ वर्ष अगाडि