नयाँ ऐन अनुसार कानून नबन्दा नागरिकता वितरणमा समस्या

Enepal Patra Pvt. Ltd. , ८२१  पटक हेरिएको

पथरी शनिश्चरे, २६ असोज  । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा आज नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा अन्तरक्रिया सम्पन्न भएको छ ।
अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकता प्रमाणपत्र प्रदान गर्दाका समस्या र समाधानका विषयमा जानकारी गराउनु भयो । उहाँले नागरिकता ऐन संसोधन गरी नागरिकता सम्बन्धी संघीय कानून निर्माण र संविधानमा प्रादेशिक पहिचान सहितको नागरिकता दिने उल्लेख भएपनि सो अनुरुपको कानून बन्न बाँकी रहेको जनाउनु भयो ।
कार्यक्रममा, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले बजार अनुगमन् गर्दै उपभोक्ता हकहित संरक्षण र अधिकार बहाली गराउने कुरामा जनप्रतिनिधि तथा प्रशासनिक पक्ष मसिनो रुपमा लाग्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।
सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राई लगायतले शान्ति सुरक्षाका बारेमा बोल्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई र नगर प्रवक्ता यामप्रसाद गुरागाईंले यस प्रकारको अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीहरुको जनहितका कामकारबाहीमा थप सहयोग पुग्ने बताउनु भयो । इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख श्रवणकुमार पोखरेलको पनि कार्यक्रममा सहभागिता रहेको छ ।
अन्तरक्रियामा, नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिवहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२०-१०-१२ , समय : १९:४४:१७ , ३ वर्ष अगाडि