भुरा बेचेर दश लाख आम्दानी

Enepal Patra Pvt. Ltd. , ७६८  पटक हेरिएको

राजेन्द्रप्रसाद पनेरु,

कञ्चनपुर, ८ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका पल्टु चौधरीले वार्षिक रु २० लाख मूल्य बढीका माछाका भुरा बिक्री गर्दै आउनु भएको छ । माछाका भुरा उत्पादन र मजदुरको खर्च कटाएर रु १० लाख चौधरीले आम्दानी गर्दै आउनु भएको छ । चौधरीले सञ्चालन गरेको ह्याचरीमा यस वर्ष पाँच करोड विभिन्न प्रजातीका माछाका भुरा उत्पादन भएका छन् । तीमध्ये तीन करोड माछाका भुरा बिक्री भएका छन् । ह्याचरीमा उत्पादन भएका माछाका भुरा सुदूरपश्चिमका सात जिल्लासहित बर्दियासम्म बिक्री हुने गरेका छन् । माछापालकले ह्याचरीमै पुगेर माछाका भुरा खरिद गरी लग्ने गरेका छन् ।

चौधरीको ह्याचरीमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगेट, रहु, नैनी, भाकुरलगायत जातका माछाका भुरा उत्पादन हुने गरेका छन् । “ग्राहकले थोरै मिहिनेतमा पोखरीमा राख्दा धेरै तौल हुने, छिटो बढ्ने जातका माछाका भुराको माग गर्दै आएका छन्”, चौधरीले भन्नुभयो, “ग्राहको मागअनुसार विभिन्न जातका माछाका भुरा उत्पादन हुँदै आएको छ ।” उहाँका अनुसार ग्राहको मागकै आधारमा यस बर्ष पंगासिस, मांगुर र रुपचन्द्र जातका नश्ल सुधारका लागि २०४ माउ माछा पालिएको छ ।

यसैगरी नश्ल सुधार गरिएका कमन, ग्रास, सिल्भर र विगेटलगायत चार जातका २०० माउ माछा पालिएको छ । गत वर्ष ४०० नश्ल सुधार गरिएका माछाबाट भुरा उत्पादन गरिएका छन् । “माउ माछाबाट ह्याचरीमा उन्नत जातका माछाका भुरा उत्पादन गरी माछापालक किसानलाई उपलब्ध गराउने लक्ष्य लिएका छौँ”, चौधरीले भन्नुभयो, “ग्राहकले छिटो बढ्ने र बजारमा राम्रो दाम पाइने माछाका भुरा रोज्ने गरेका छन् । सोही आधारमा भुरा उत्पादनमा लागेका छौँ ।” चालु आवको हालसम्म चौधरीले सञ्चालन गरेको ह्याचरीबाट एक हजार २०० जना माछापालकले माछाका भुरा खरिद गरी लगेका छन् ।

“माछापाल किसान बढ्दै गएकाले ह्याचरीमा माछाका भुराको उत्पादनसमेत आउँदा वर्ष बढाउने तयारीमा लागेका छौँ”, चौधरीले भन्नुभयो, “माछापालनप्रति स्थानीय किसानको आर्कषण बढ्दै गएकाले यही अवस्था रहे अबको दुई वर्षमा कञ्चनपुर माछामा आत्मनिर्भर हुन्छ ।” दुई बिघा १० कठ्ठा जग्गा आफ्नै स्वामित्वको र दुई बिघा अरुको लिजमा लिएर चौधरीले ह्याचरी सञ्चालन गरेका छन् ।

ह्याचरीमा माछाका भुरा उत्पादन गर्न, माछापोखरीको हेरचाह गर्नका लागि सात जनाले रोजगारीसमेत पाएका छन् । फागुनदेखि भदौ अन्तिमसम्म माछाका भुरा उत्पादनको कार्य हुने गरेको छ । विसं २०५७ देखि चौधरीले निरन्तर रुपमा ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्दै आएका छन् । चौधरी कञ्चनपुरका ह्याचरी सञ्चालन गर्ने एक्ला किसान हुन् । चौधरीले माछाको नश्ल सुधार, माछापालनसम्बन्धि तालिमसमेत लिएका छन् ।

शुरुमा एउटै पोखरीमा माछापालन थालेका चौधरीले भारतीय व्यापारीले माछाका भुरा बेचेर मनग्य आम्दानी गरेको देखेपछि त्यहाँको माछाका भुरा उत्पादन गर्ने ह्याचरी अवलोकनपश्चात जग्गा बैंकमा धितो राखेर ह्याचरी सञ्चालन गरेका हुन् । ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्ने चौधरी यस क्षेत्रकै सफल किसानका रुपमा रहेका छन् । चौधरीको फिस ह्याचरीमा स्पोनिङ ट्याङ्क एक वटा, इन्कुभेसन टयाङ्क चार वटा र होल्डीङ ट्याङ्क १५ वटा रहेका छन् । माछाका माउ पाल्नका लागि चौधरीले सात वटा पोखरी समेत बनाएका छन् । ह्याचरीमा मजदुरसँगै चौधरी दम्पतीसँगै छोराले पनि साथ दिने गरेका छन् ।

ह्याचारीमा माछाका भुरा उत्पादन गर्दै आएका चौधरीले भन्नुभयो, “ह्याचरीमा माछाका भुरा उत्पादन भएपश्चात ग्राहकलाई ढुवानीका साधन पाउन समस्या छ । ढुवानीका साधन पाए पछि ह्याचरी सञ्चालन गरेको ठाउँसम्म सडकको बिग्रदो अवस्थाका कारण पु¥याउँनै समस्या छ ।” सडकको अवस्थामा सुधार भए अझै बढी ग्राहक माछाका भुरा खरिद गर्न आउने उहाँको भनाइ छ ।

प्रकाशित मिति: २०२०-०८-२५ , समय : १९:१९:१९ , ४ वर्ष अगाडि