पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस

Enepal Patra Pvt. Ltd. , २८०  पटक हेरिएको

कञ्चनपुर, ३ भदौ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारेजका लागि पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

महासङ्घमा शुद्धीकरणको चर्चा चलिरहेका बेला महासङ्घले विधानअनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।

“आगामी बैठकबाट निष्क्रिय, विदेशिएका, निर्वाचित जनप्रतिनिधि र सरकारी जागिरमा रहेका सदस्यको पनि सदस्यता खारेजीका लागि पहल गर्नेछौँ”, उहाँले भन्नुभयो । विसं २०५३ मा स्थापना भएको महासङ्घ कञ्चनपुरमा २६० साधारण सदस्य छन् । त्यसमध्ये ३३ जनाको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: २०२०-०८-१९ , समय : ०८:४८:४२ , ४ वर्ष अगाडि