पशुपती क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ सार्वजनिक

Enepal Patra Pvt. Ltd. , ४७३  पटक हेरिएको

– पूर्णप्रसाद मिश्र

काठमाडौँ, २३ साउन । पशुपति क्षेत्र विकास कोषले अनुसन्धान ग्रन्थ ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ नामक कृति सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले अध्ययन अनुसन्धान गरी तयार पारेको पुस्तक आज पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको हो ।

पशुपति क्षेत्रको गुरुयोजना बनाउने क्रममा विभागले गरेको अध्ययनका आधारमा पुस्तक तयार पारिएको जनाइएको छ । पशुपति क्षेत्रका विषयमा यसअघि धेरै पुस्तक प्रकाशन गरिए पनि कोषले नै पशुपति क्षेत्रका विषयमा निकालेको पहिलो पुस्तक भएकाले यसको आधिकारिकता हुने पुस्तकका सम्पादक प्रा डा सोमप्रसाद खतिवडाले बताउनुभयो । पुस्तकमा पशुपति क्षेत्रका सबै मन्दिर, मूर्तिलगायत मूर्त, पूजाविधि, पुजारी, परम्परा, जात्रा, महास्नान, महाबलिलगायत अमूर्त सम्पदाका विषयमा पनि प्रकाश पारिएको सो अवसरमा जानकारी गराइएको थियो । ६६८ पृष्ठको पुस्तकको मूल्य रु तीन हजार ५०० छ ।

पशुपतिका सम्पदामाथिको थिचोमिचो सह्य हुँदैन: मन्त्री भट्टराई

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो । “पहिले जस्तो राजनीतिक अस्थिरता अहिले छैन, जन अनुमोदित र बलियो सरकार भएकाले राजनीतिक सौदाबाजी गर्नुपर्ने आवश्यकता छैन, राजनीतिक उद्देश्य वा अरु कुनै पनि कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न सकिँदैन”, उहाँले भन्नुभयो ।

कुनै पनि राजनीतिक उद्देश्य तथा गलत मनसायका साथ आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदामाथि ज्यादती गर्न नपाइने मन्त्री भट्टराईको भनाइ थियो । सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाउन सरकार लाग्ने प्रतिबद्धता पनि उहाँको छ । २०४३ सालमै सरकारले तोकेको पशुपति क्षेत्रको चारकिल्लाप्रति कसैको पनि विमति नरहेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले चारकिल्लाभित्र बन्ने निजी संरचना पनि सम्पदा मापदण्डभित्र हुनुपर्ने बताउनुभयो ।

पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजना बाहिर आएपछि सङ्र्घष समितिको नाममा भएको विरोधलाई सम्बोधन गर्न मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेको र आवश्यक छलफल गरेर सो प्रस्तावलाई अन्तिम रुप दिने प्रयोजनका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

लोकतान्त्रिक व्यवस्थामा व्यक्तिका असन्तुष्टि वा फरक मतप्रति सम्मान रहने भएकाले कार्यदल बनाइएको उहाँको भनाइ थियो । सरकारले कुनै पनि नागरिकलाई विकल्पविना निवासबाट नहाउने र त्यसो गर्न कानूनले पनि नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘सरकारले कानुनी सर्वोच्चतालाई सम्मान गर्छ, त्यसो भन्दैमा पशुपति क्षेत्रभित्र मापदण्ड विपरीत मनलागी गर्न पाइदैन’ ।

पशुपति क्षेत्र पवित्रतामा रमाउने र धर्म कमाउने ठाउँ भएकाले आर्थिक लेनदेनबाट कुकर्म कमाउने बाटोमा नलाग्न पनि उहाँले कोषका पदाधिकारी तथा कर्मचारीलाई सचेत गराउनुभयो । खार्थिक लेनदेन र गलत मानिसलाई प्रश्रय दिने काममा लागेमा कारबाही गर्ने मन्त्री भट्टराईले चेतावनी दिनुभयो । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङले पशुपति क्षेत्रको तिलगङ्गामा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वले युक्त त्रिविक्रमको मूर्तिलाई संरक्षण गर्न माग गर्नुभयो ।

वार्षिक एक करोड धार्मिक पर्यटक ल्याउने पूर्वाधार बनाइने

कोषका सदस्य सचिव डा प्रदीप ढकालले प्रतिदिन २५ देखि ३५ हजारसम्म भक्तजन आउने भएकाले त्यसलाई व्यवस्थापन गर्ने गरी गुरुयोजना तयार पारिएको बताउनुभयो । ठूला चाडपर्वमा पशुपति क्षेत्रमा हुने लाखौँको भीड व्यवस्थापन निकै चुनौतिपूर्ण हुने गरेको उहाँको भनाइ छ ।

“यसका लागि आवश्यक पूर्वाधारको विकास पनि हाम्रो प्राथमिकतामा परेको छ, जस्तै पार्किंग, चमेनागृह, शौचालय, अन्न क्षेत्र, संस्कार गृहजस्ता क्षेत्रको निर्माण जरुरी भएकाले गुरुयोजनामा समुचितरुपमा काम गर्ने गरी प्रस्ताव गरिएको हो, विश्वका धार्मिक स्थल लुम्बिनी–बोधगया–सारनाथ, मक्का–मदिना, भेटिकन सिटीजस्तै गरी पशुपति पनि विश्वका प्रमुख धार्मिक स्थानमध्ये हिन्दू धर्मको एक महत्वपूर्ण स्थानका रूपमा विकास गर्ने सोच गुरुयोजनामा छ”, सदस्य सचिव ढकालले भन्नुभयो ।

विश्वभर फैलिएका एक अर्ब हिन्दूमध्ये वार्षिकरुपमा कम्तीमा एक करोडलाई पशुपति क्षेत्रको भ्रमण गराउने क्षमता निर्माण गर्ने गरी कोषले गुरुयोजना प्रस्ताव गरेको उहाँको भनाइ छ । कोषको यो दोस्रो गुरुयोजना हो । यसअघि पहिलो गुरुयोजना विसं २०५८ देखि २०६८ सम्म लागू भएको थियो । त्यसको समीक्षा हुनुपर्ने माग स्थानीयवासीको छ ।

कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा र कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले आज सार्वजनिक गरिएको ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा ९मूर्त अमूर्त०’ पुस्तकको अङ्ग्रेजी अनुवाद गराएर छिट्टै प्रकाशनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा कोषको आधिकारिक वेवसाइट, मोवाइल एप्स, युट्युव च्यानल, ट्वीटरलगायत सोसल मिडिया प्लेटफर्म पनि आजै शुरुवात् गरिएको थियो ।

प्रकाशित मिति: २०२०-०८-०७ , समय : १७:४४:१६ , ४ वर्ष अगाडि