विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण

Enepal Patra Pvt. Ltd. , ३४५  पटक हेरिएको

चितवन, १ साउन । कुखुरा पालक कृषकलाई विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारीमार्फत आवश्यक सामग्री बिक्री एवं कच्चा पदार्थ खरिदमा सहयोग गरिने भएको छ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले भरतपुरको रामनगरमा रहेको आफ्नो जग्गामा बहुउद्देश्यिय भवन निर्माण गरि ती काम गर्न लागेको हो ।

सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार रामनगरमा रहेको तीन कठ्ठा चार धुर जग्गामा अलगअलग भवन बनाइने छ । चार तलाको ती भवनमा अण्डा राख्न शीतभण्डार, अण्डा उत्पादक कृषक मात्र रहेको सहकारीका पसल सञ्चालन हुने छन् । सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओलीको अध्यक्षतामा नेपाल अण्डा उत्पादक कृषि सहकारी दर्ता गरिएको छ । शीतभण्डारका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेट विनियोजन गरीसकेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशले फरक फरक शीर्षकमा रु दुई करोड र सङ्घीय सरकारले रु ६९ लाख विनियोजन गरेको छ । काम गर्दै जाँदा आवश्यक पर्ने रकम थप गरिने आश्वासन पाएको केसीले बताउनुभयो ।

सङ्घका उपाध्यक्ष एवं सहकारीका अध्यक्ष ओलीका अनुसार शीतभण्डारमा एक लाख पेटी अण्डा भण्डारण गर्न सकिने छ । तापक्रम मिलाएर छोटो समयका लागि अण्डा राख्न मिल्छ । जसले गर्दा समयमा बिक्री नभएर अण्डा नष्ट हुनबाट जोगिने हुन्छ । ओलीका अनुसार सङ्घका सदस्य सहकारीमा रहनेछन् । सहकारीमार्फत अण्डा उत्पादक कृषकलाई आवश्यक चल्ला, औषधि, दाना, भाँडा, प्राविधिक परामर्शसँगै अण्डाको बजारीकरणमा पनि सहयोग गरिने उहाँले बताउनुभयो ।

कृषकलाई आवश्यक पर्ने सामग्री र अण्डा बिक्री गर्दा भएको विचौलियाको बिगबिगीलाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा सहकारीले काम गर्ने उहाँले जानकारी दिनुभयो । नेपाल अण्डामा आत्मनिर्भर रहेको छ । हाल दुई हजार ७०० भन्दा बढी कृषक यस पेशामा आबद्ध छन् । एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अण्डा क्षेत्रमा मात्र रु ४० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । बजार मूल्यमा एकरुपता नहुँदा धेरै यो पेशाबाट विस्थापित भई सकेको केन्द्रीय अध्यक्ष केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी विचौलियाको दबदबालाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा काम गर्न लागेका छौँ ।” केसीले कृषि तथा पशुपक्षी मन्त्रालय र वाग्मती प्रदेशको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्रीज्यूहरु आफँै सकारात्मक र कृषकको पक्षमा तत्काल काम गर्नुपर्छ भन्नेमा रहेकाले सङ्घलाई बल पुगेको बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०७-१६ , समय : १४:२४:०६ , ४ वर्ष अगाडि