कृषकलाई खाडल अनुदानसहित ६० हजार फलफूलका बिरुवा

Enepal Patra Pvt. Ltd. , ६२४  पटक हेरिएको

पर्वत, १२ असार । पर्वतको फलेवास नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्नका लागि खाडल अनुदान सहित बिरुवा वितरण गर्न थालेको छ । बिरुवा मात्र अनुदानमा दिँदा कृषकको ‘एक हातमा कुटो र अर्को हातमा बिरुवा’ हुने तर तरिकाले बिरुवा नरोप्ने समस्या बढेपछि खाडल खन्नका लागिसमेत आर्थिक सहयोग गर्ने भएको हो । चालु आर्थिक वर्षमा खाडल अनुदानसहित फलफूल बिरुवा अनुदानमा उपलब्ध गराएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाले गत मङ्सिरमा कृषकलाई सूचना जारी गरी आवश्यक बिरुवाको माग सङ्कलन गरी वैशाखसम्ममा खाडल खनिसक्नुपर्ने सूचना जारी गरेको थियो । उक्त खाडलको अनुगमन सामाजिक अभियान्ता, जनप्रतिनिधि र प्राविधिकसहितको टोलीले वैशाख २१ गतेबाट ३० गतेसम्म गरेको थियो । उक्त खाडलको अनुगमनको आधारमा नगरपालिकाले आँप, लिची, सुन्तला र कागतीका बिरुवा अनुदानमा कृषकलाई उपलब्ध गराएको छ ।

नगरपालिकाले दुई हजार आँप, दुई हजार लिची, १५ हजार कागती र ४० हजार सुन्तला वितरण गरेको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताउनुभयो । त्यसैगरी नगरका पाखो बारीमा फलफूल रोपी नगरलाई फलफूलमा आत्मनिर्भर बनाई कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले समग्र नगरपालिकालाई समृद्धितर्फ अगाडि बढाउने नीति लिएको नगरप्रमुख शर्माले बताउनुभयो ।

करिब रु २० लाखको लागतमा सञ्चालन गरिएको यस कार्यक्रममा खाडल अनुदान सुन्तला कागतीको रु १५ लिची को रु २५ र आँपको रु ३० रहेको छ । त्यसैगरी कृषकले कागती ४–५ मिटर, सुन्तला ५–६ मिटर र आँप लिची ८–१० मिटरको दूरीको फरकमा सुन्तला कागतीको लागि २ दशमलव ८२ फिटको खाडल र आँप लिचीको लागि ३ दशमलव ८३ फिटको खाडल खनेपछि मात्र खाडल अनुदान पाउने छन् । आँप अम्रपाली, लिची सिडलेस, कागती सुनकागती–१ र सुन्तला स्थानप्य जातका बिरुवा वितरण गरिएको नगरपालिका कृषि अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

कृषिमार्फत समृद्धि हासिल गर्नका लागि नगरले प्रत्यक्षरुपमा कृषकलाई लाभ पुग्ने खालका कार्यक्रम अघि सारेको छ । नगरले आगामी आर्थिक वर्षका लागि पनि ‘एक घर, एक बगैँचा’ र ‘क्लिन फलेवास ग्रिन फलेवास’लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०६-२६ , समय : ११:१७:४८ , ४ वर्ष अगाडि