सैनामैनाले फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने

Enepal Patra Pvt. Ltd. , ७३७  पटक हेरिएको

खस्यौली, ५ असार । सैनामैना नगरपालिकाले आज आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले कृषि पर्यटन, उद्योग र पूर्वाधार सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार भन्ने नारासहित ७९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाको सातौंँ नगर परिषद्मा नगरप्रमुख चित्रबहादुर कार्कीले नीति कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासका योजना कटौती गरी विपद् व्यवस्थापनमा खर्च गरिएको बताउनुभयो ।
कोरोना महामारी लामो समयसम्म रहे नगरपालिकाभित्रै सञ्चालनमा रहेका सामुदायिक क्वारेन्टिन सङ्ख्या पाँच र आइसोलेशन अस्पताल सङ्ख्या एकको क्षमता विस्तारमा जोड दिइएको छ ।
नीति तथा कार्यक्रममा स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रमअनुरुप नगरपालिकामा सुविधासम्पन्न अस्पतालको निर्माण शुरु गरिने तथा सबै स्वास्थ्य संस्थामा व्यवस्थित फिभर क्लिनिक सञ्चालन गरिने नगर प्रमुख कार्कीले बताउनुभयो ।
फोहरको दीर्घकालीन व्यवस्थापनका लागि सैनामैना १०, एक्ला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना र कञ्चन गाउँपालिकाको सहकार्यमा अन्तर स्थानीय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्न सङ्घीय सरकारबाट जग्गाको भोगाधिकार लिने प्रक्रिया अघि बढाइएको जनाउँदै उहाँले आव २०७७ । ०७८ मा पूर्वाधार निर्माण सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
जग्गाधनीले जग्गा बाँझो राखेमा जग्गा भूमि बैँकले लिजमा दिन सक्ने नीति लिँदै कृषियोग्य जमीनमा बस्ती विकास र शहरीकरणलाई निरुत्साहन गरी व्यावसायिक कृषिमार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्षमा ठेक्का लागेका र सम्झौता भएका सञ्चालित आयोजनालाई म्याद थप गरी सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने र बहुवर्षीय आयोजना तोकिएको समयावधिभित्रै सम्पन्न गर्ने गरी स्रोत सुनिश्चित गरिएको जानकारी दिँदै नगरप्रमुख कार्कीले आव २०७६ । ०७७ मा सडक स्तरोन्नतिका योजनाको न्यूनतम ७५ प्रतिशत बजेट सुनिश्चित गरी आगामी आवको कात्तिक मसान्तसम्म सम्पन्न गरिने लक्ष्य लिइएको छ ।
कञ्चनको नीति तथा कार्यक्रम
रुपन्देहीको कञ्चन गाउँपालिकाले आज आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौंँ गाउँसभामा अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले नीति कार्यक्रम प्रस्तुत गर्दै कोरोना विरुद्धको लडाइँसँगै कृषि र पशुमा आत्मनिर्भर भएर स्वरोजगार बनाइने योजना रहेको बताउनुभयो ।
उहाँले कोरोना नियन्त्रण कोष निर्माण गरी कोषमार्फत बजेट सङ्कलन र खर्च हुने जानकारी दिँदै विद्यालयमा रहेको क्वारेन्टिन हटाई १५ शय्याको आइसोलेशन अस्पताल सञ्चालन गरिने बताउनुभयो ।
अध्यक्ष क्षेत्रीले पशुपालनलाई बढावा दिन अनुदान कार्यक्रम तथा दूध र कुुखुरापालनका लागि उत्पादनका आधारमा अनुदान दिइने जानकारी दिनुयो ।
गाउँपालिकामा अव्यवस्थित बसोबास गरेकालाई जग्गाधनी पूर्जा वितरणको व्यवस्था गरिने जानकारी दिँदै उहाँले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक डम्पिङ साइट निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय पाठ्यक्रम निर्धारण गर्न पहल गरिने छ र उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम सञ्चालनमा ल्याइने छ ।’९तस्वीर छ०
९९९

प्रकाशित मिति: २०२०-०६-१९ , समय : १९:३९:५७ , ४ वर्ष अगाडि