भीख मागेर सरकार चल्दैन – सचेतक राई

Enepal Patra Pvt. Ltd. , १०२६  पटक हेरिएको

विराटनगर,३ असार । प्रदेश नं. १ संसदीय दलमा नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले सरकारको बजेटका स्रोतहरू भरपर्दा नभएको बताउनु भएको छ ।
बुधबार बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उहाँले संघीय सरकार नै ५५५ अर्व भीख मागेर चलाउने तयारीमा रहेको बेला प्रदेश सरकारले भीख माग्ने ऋण माग्ने विषय असम्भव रहेको बताउनु भयो । उहाँले बजेट महत्वकांक्षी भएको उल्लेख गर्दै वजेटका स्रोतहरू नै कमजोर भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–४१ अर्बको बजेट आउँदा पनि आशा जगाउन सकेको छैन् । ५ अर्ब केन्द्रीय सरकारसँग ऋण लिने विषय हास्यास्पद भएको बताउँदै उहाँले ४ अर्ब ७५ करोड रुपैयाँ प्राप्त गर्ने अनुमानको आन्तरिक स्रोतको माध्यम के हो प्रश्न गर्नुभयो । उहाँले ३५ अर्ब माथिको बजेट आउने आफूले अनुमान नगरेको समेत बताउनु भयो ।
सरकारसँग रोजगार सिर्जनागर्ने नारा मात्रै रहेको आरोप लगाउँदै सचेतक राईले उत्पादन वृद्धि , उद्योग स्थापना र सञ्चालनका लागि ठोस कार्यक्रम आउन नसकेको भन्दै चिन्ता प्रकट गर्नुभयो । रोजगार सिर्जना ठट्टाको विषय होइन , ताकि नाराले रोजगार सिर्जना गरोस । राईले भन्नुभयो –कोरोनालाई देखाएर सरकार जनताका आशा र अपेक्षालाई ढाकछोप गरिरहेको छ । यस्तो बजेटले जनताका अपेक्षा र आशा पुरा गर्न नसक्ने दाबी गर्दै राईले मुलुकको स्वास्थ्य क्षेत्रले संकटको सामाना गरिरहेका बेलामा पनि कुनै भरोसा युक्त कार्यक्रम नआउँदा कसरी जनताका अगाडि अनुहार देखाउनु ? राईले सरकारसँग प्रश्न गर्नुभयो ।
बजेट प्रति आक्रामक टिप्पणी गर्दै राईले पहिलो वर्ष आंशिक बजेट आउँदा सरकारले कानून निर्माणको वर्ष भन्दै जनतालाई अल्मल्यायो । दोस्रो वर्ष प्रदेश निर्माणको आधार वर्ष भन्यो । यो वर्ष (तेस्रो) कोराना वर्ष भइहाल्यो । राई आगामी वर्षको बजेट गोजी भर कार्यकर्ता पाल मात्र हुने अनुमान गर्नुभयो । अन्तिम बजेट पैसा छर,भोट किन र चुनाव जित , हुनेछ ।
राईले आलंकारिक ब्यङ्ग्य गर्दै भन्नुभयो –नेकपारुपी राजकुमार वायुपंखी घोडा चडेर तीब्र रुपमा उडिरहेको छ । वायुपंखी रुपी बजेट लिएर उडेको सरकारले न कुनै राजकुमारीलाई बरमाला लगाउन सक्छ , न कुनै संकटमा परेका निमुखाको उद्धार नै गर्नसक्छ । या कुनै राक्षसको बधमा पनि लागिरहेको छ । अन्धाधुन्द रुपमा गइरहेको यो सरकार जानेर हो वा नजानेर स्वर्गको होइन नर्कको बाटो गइरहेको छ । उहाँले सुझाव दिँदै सरकारले सच्चिनु पर्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०६-१७ , समय : २०:१६:३० , ४ वर्ष अगाडि