बहराइनसँगको व्यापारिक सम्बन्ध दरिलो बन्दै

Enepal Patra Pvt. Ltd. , ७२३  पटक हेरिएको

काठमाडौं २२   माघ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गरे ।

भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । आइतबार भएको भेटमा अध्यक्ष जइनलले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही अवसरमा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन सरकारी तथा सांसद तहमा समेत द्विपक्षीय सम्बन्ध संयन्त्र बनाई अगाडि बढ्न प्रस्ताव गरे।

अध्यक्ष जइनलले आगामी दिन राजनीतिक नेतृत्व तहमा सम्बन्ध विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बताउँदै नेपाली कामदारको सीप, लगनशीलता र इमानदारिताको प्रशंसा पनि गरे। राजदूत सुन्दासले गल्फ एयरको सिधा उडान सञ्चालन गर्न सकिए दुई देशबीचको व्यापारिक, पर्यटन तथा साँस्कृतिक सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गरे ।

उनले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र आफ्नो व्यक्तिगततर्फबाट सभामुख जइनल बहराइनको गरिमामय ओहदामा नियुक्त भएकमा बधाई तथा शुभकामना दिए।

प्रकाशित मिति: २०१९-०२-०५ , समय : १३:१९:३९ , ५ वर्ष अगाडि