नेपालमा पहिलोपटक कोरोनाले लियो ज्यान

Enepal Patra Pvt. Ltd. , ४७५  पटक हेरिएको

काठमाडौं,  ३ जेेेठ । शुक्रबार धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ। उनको मृत्युको कारण कोरोना नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ।

 

कोरोना संक्रमण भएर मृत्यु भएकी महिला सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकास्थित राम्चेकी हुन्। उनी हालै सुत्केरी भएकी थिइन्। उनी परिवारसहित काठमाडौंमा बस्ने गर्थिन्।

बैसाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएर उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन्। २५ गते बाह्रबिसे एम्बुलेन्समा गाउँ फर्केकी थिइन्। वडा नम्बर ९ मा रहेको उनको घरमा नै उनी बस्न थालेकी थिइन्।

घरमा नै आराम गरिरहेको अवस्थामा उनलाई १ गते सास फर्न असहज भयो। समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पुगेकी थिइन्। लगत्तै उनलाई धुलिखेल अस्पतालमा रिफर गरिएको थियो।

उनका दुई सन्तान छन्। ठुलो छोरो ११ वर्षको छ। श्रीमान धुलिखेल अस्पतालमा नै छन्। उनको परिवारमा कोही पनि विदेशबाट आएको छैन। कसरी संक्रमण भयो थाहा छैन। सुत्केरी भएर काठमाडौं बस्न गाह्रो हुने भएपछि उनको परिवारले एक दिनकी सुत्केरी लिएर गाउँ फर्केका हुन्।

उनको मृत्यु भएको खबरपछि उनको टोल र स्वास्थ्य केन्द्रमा कार्यरत रहेका स्वास्थ्यकर्मी र उनको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीमा नगरपालिका लागेको छ। उनको टोल र यहाँको स्वास्थ्य केन्द्र सिल गरिएको छ।

प्रकाशित मिति: २०२०-०५-१६ , समय : २१:२८:०३ , ४ वर्ष अगाडि