विराटचौकमा बजार अनुगमन, गोरखा डिपार्टमेन्टमा भेटियो किरा परेको च्याउ

Enepal Patra Pvt. Ltd. , ७९३  पटक हेरिएको

रेवती निरौला
सुन्दरहरैंचा, ३ जेठ ।  घरेलु तथा साना उद्योग कार्यालय विराटनगरकोसंयोजकत्वमा मोरङको सुन्दरहरैंचास्थित विराटचौकमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा गोरखा डिपार्टमेन्ट स्टोर लगायतका पसलमा कैफियत भेटिएको छ ।
अनुगमन टोलीले विराटचौकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा विक्रिका लागि राखिएको दर्जनौं पोका च्याउमा किरा भेटिएको छ । साथै सो च्याउमा उपभोग्य मिति उल्लेख नभएको तथा प्याकेजिङ अनुमति नलिइ स्टिगर टाँसिएको पाइएको छ । यस्तै गोरखाले दाल लगायतका खाद्य सामाग्री अनुमति नलिइ प्याकिङ गरेको पाइएको छ भने उपभोग्य मिति समेत उल्लेख गरिएको छैन । गोरखा डिपार्टमेन्ट स्टोरमा यसअघि समेत अनुगमन गरेर सुधार गर्न आग्रह गरेपनि पुन अनुगमन गर्दा समेत कैफियत भेटिएको हो । अनुगमन टोलीले किरा भेटिएको च्याउ नष्ट गरि गोरखा डिपार्टमेन्ट स्टोरलाई ५० हजार जरिवाना गराएको छ ।
यस्तै अनुगमन टोलीले विराटचौकमै रहेको जुनतारा बजारमा पनि केहि म्याद गुज्रीएको सामान भेटाएको छ । टोलीले म्याद सकिएको सामान नष्ट गरि जुनतारा बजारलाई १० हजार जरिवाना गराएको छ । यस्तै जुनतारा बजार सँगै रहेको जीवन श्रेष्ठकै सगुन किराना पसलमा भने सन्तोषजनक अवस्था पाइएको छ । यस्तै सुन्दरहरैंचा नगरपालिकाको ठीक अगाडी रहेको आरटी सप्लायर्समा समेत म्याद नाघेका खाद्य सामाग्री भेटिएकाले सो सामाग्री नष्ट गरि १० हजार जरिवाना गराइएको छ ।
यस्तै टोलीले सुन्दरहरैंचा नगरपालिकामा रहेका ८ वटा औषधि पसलमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रमामा केही औषधि पसलमा व्यवसायी अनुपस्थित रहेको पाइएको छ । केही बेर पर्खिंदा समेत व्यवसायी उपस्थित नभए पछि टोलीले साइराम मेडिकल बन्द गराएको छ । यस्तै टोलीले केही औषधि पसलमा गुणस्तरहिन सौर्य सेनिटाइजर भेटिएकाले जफत गरेको छ । यसैबीच सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धना तामाङले नगरपालिकाले आगामी दिनमा नियमितरुपमा अनुगमनको काम अघि बढाउने बताउनु भएको छ ।
जिल्लाबाट आएको टोलीले बेला बेलामा बजार अनुगमन गर्छ, स्थानीय नगरपालिकाको टोली पनि कहिले काहीं बजार अनुगमन भन्दै निस्कने गर्दछ । तरपनि बजारमा उपभोक्त हित विपरितका काम दोहोरि रहेका छन् ।

प्रकाशित मिति: २०२०-०५-१६ , समय : ११:३१:४४ , ४ वर्ष अगाडि