काँग्रेस संसदीय दलद्धारा आरडिटी रोक्न माग

Enepal Patra Pvt. Ltd. , ७९८  पटक हेरिएको

विराटनगर,१८ बैशाख । नेपाली काँग्रेस १ नंं. प्रदेशसभा संसदीय दलले कोरोना पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रोक्न माग गरेको छ ।

बिहीबार बसेको काँग्रेस संसदीय दलको बैठकले आरडिटीको नतिजा विश्वसनीय नदेखिएको र त्यसले गर्दा झनै संक्रमण फैलने जोखिम देखिएकोले आरडिटी रोक्न माग गरेको हो ।

पार्टी संसदीय दलका नेता राजिब कोइरालाको अध्यक्षतामा बसेको बैठकले आरडीटी रोकेर शंकास्पद सबैको व्यक्तिहरुको पीसीआर बिधिबाट परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । उदयपुरको त्रियुगा ३ भुल्केका संक्रमितहरुको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गर्न तथा उदयपुरमा कोरोना उपचार केन्द्र स्थापना गर्नसमेत बैठकले माग गरेको पार्टीका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिनुभयो ।

बैठकले पूर्वबजेट तयारी तथा छलफलको लागि बजेट अधिवेशन शुरु गर्नसमेत माग गरेको छ । व्यक्ति व्यक्तिबीचको दूरी कायम गर्दै प्रदेशसभाको बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने काँग्रेसको भनाइ छ ।

बैठकले राहत वितरण गर्न प्रदेश सरकारले एकद्वार नीति अवलम्बन गरेको भनिएपनि मन्त्रीहरुले नै उल्लंघन गरेको भन्दै काँग्रेसले राहत कोषमा जम्मा भएको नगद तथा जिन्सीको विवरण, स्वास्थ्य सामग्री खरिदको खर्च र समग्र वितरण प्रक्रिया पारदर्शी बनाउन माग गरेको छ । दैनिक ज्याला मजदुरी गर्ने, किसान, निम्न मध्यम वर्गीय, मध्यम वर्गीय परिवार, उद्योगी व्यवसायीहरुसमेत कोरोना भाईरसबाट प्रभावित भएकोले एकमुष्ठ राहतको प्याकेज घोषणा गर्नुपर्ने काँग्रेसको भनाइ छ।

लकडाउन लम्बिएकोले व्यक्ति व्यक्तिबीच दूरी कायम गर्दै खेतीपाती, उत्पादन र औद्योगिक गतिविधिको वातावरण बनाउनुपर्ने तथा देश तथा विदेशमा अलपल अलपत्र परेका प्रदेशका नागरिकको उद्धार तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने काँग्रेसको भनाइ छ ।

हाम्राेमत वाट

प्रकाशित मिति: २०२०-०४-३० , समय : १७:२७:५१ , ४ वर्ष अगाडि