ओली र माधव नेपाल पक्षबीच आज निर्णायक वार्ता

दुवै पद छाड्न नेपाल पक्षको दबाव, हटाउन खोजिए पार्टी फुट्ने चेतावनी

काठमाडौं,  १५ वैशाख। नेकपाभित्रको अन्तरविरोध चरम बिन्दूमा पुगेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेका छन् ।

नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् ।

बालुवाटार स्रोतका अनुसार आज ९सोमबार० ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच समझदारीका लागि ‘निर्णायक छलफल’ हुँदैछ । त्यसका लागि दुबै पक्षबाट चार÷चार जना नेता खटिएका छन् । अपरान्ह प्रधानमन्त्रीनिवास बालुवाटारमा हुने दुई पक्षीय छलफलपछि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच कुराकानी हुनेछ ।

ओली पक्षबाट वार्ताका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् । त्यस्तै नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई हटाउनेसम्मको तयारी भएपछि पूर्वएमालेबीच समझदारीका लागि प्रयत्न भइरहेको छ ।

प्रचण्डले यसअघि नै माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपति बनाउनेसम्मको प्रस्ताव राखिसकेको नेकपाभित्र चर्चा छ । तर, माधव नेपाल अझै पनि ओलीलाई अपमानजनक ढंगले हटाएर अस्थिरताको कारक बन्न चाहिरहेका छैनन्
आइतबार माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक नेपाल निवासमा बसेको थियो । नेपाल पक्षधर नेताहरुले ओलीलाई दुवै पदबाट हटाउनुपर्ने सम्मका बिचार राखेको स्रोतले जनाएको छ ।

सो बैठकमा नेताहरुले तत्काल पार्टीको बैठक राखेर सरकार र पार्टीको भूमिकाका बारेमा छलफल गर्नुपर्ने बताएका थिए । बैठक छल्ने कुरा स्वीकार्य नहुने उनीहरुको भनाइ थियो ।

स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीबाट सरकार र पार्टी दुवै चल्न सकेन भन्ने धेरै नेताहरुको राय आए पनि आफूहरु कसैलाई पनि देखाइदिनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

उनले भने, ‘केपी कमरेडबाट सरकार र पार्टी सञ्चालन दुवै हुन सकेन भन्ने साथीहरुको कुरा छ । अब सचिवालयका नेताहरुमात्र मिलेर पन हुनेवाला देखिएन । हिजो माधव नेपाललाई देखाइदिने भन्ने शैलीले यो अवस्था आएको हो । मैले उतिबेलै यो तपाईहरुलाई भारी पर्छ भनेकै थिएँ । अहिले पनि कुनै एउटा पक्षलाई देखाइदिनुपर्छ भन्ने पक्षमा म छैन ।’

नेपाल पक्षले ओलीसँग समझदारीका केही पूर्वशर्त राखेको छ । जसमा सहमति हुन सकेको छैन । त्यसैका लागि बालुवाटारमा आज वार्ता हुन लागेको स्रोतले जनाएको छ । माधव नेपाल पक्षले प्रदेश मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म एक व्यक्ति एक पदको शर्तमा सहमति भएमात्र ओलीसँग समझदारी हुने बताएको छ ।

नेपाल पक्षले कम्तिमा दुईजना मुख्यमन्त्री,मन्त्रिपरिषदमा समान सहभागिता र ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने शर्त अघि सारेको छ । नत्र पार्टीको निर्णय ओलीले मान्नुपर्ने उनीहरुको भनाइ छ । नेपाल पक्षका कतिपय नेताले ओलीसँग समझदारी गरेर जान नसकिने समेत बताइरहेका छन् ।

केही दिनयता ईश्वर पोखरेल, बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरुले माधव नेपालसँग दिनहु छलफल गरिरहेका छन् ।

नेपाल पक्षका अन्य नेतासँग पनि ओली पक्षको कुरा भइरहेको छ । योगेश भट्टराई लगायतका नेताले पनि ओली र नेपालबीच समझदारीमा जोड दिएका छन् ।

माधव नेपालसँग पावर सेयरिङमा कुरा गरिरहेका बेला शंकर पोखरेलले खुमलटार पुगेर प्रचण्डसँग पनि सोही आशयको कुराकानी गरेको सूचना खुमलटारबाट पाएपछि नेपाल पक्ष झस्किएको छ । नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसालले दुवैतिर उस्तै प्रस्ताव लगेर जालझेल गर्न खोजिएको आशंका भएको अनलाइनखबरलाई बताए ।

प्रचण्ड पक्ष भने पूर्वएमालेहरुबीचको समझदारी कस्तो हुन्छ भनेर पर्खेर हेर्ने पक्षमा छ । प्रचण्डले यसअघि नै माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपति बनाउनेसम्मको प्रस्ताव राखिसकेको नेकपाभित्र चर्चा छ । तर, माधव नेपाल अझै पनि ओलीलाई अपमानजनक ढंगले हटाएर अस्थिरताको कारक बन्न चाहिरहेका छैनन् ।

उनले पार्टी संस्थागत र विधिवत ढंगले चल्नुपर्नेमा जोड दिएका छन् । दुई अध्यक्षबीचको अन्तरविरोध मिल्नै नसक्ने अवस्थामा पुगेपछि नेकपाभित्रको समीकरणमा माधव नेपाल निर्णायक बनेका छन् । नेपाल त्यही भएर आफ्नो ‘पोजिसन’ बनाइरहेका छैनन् । उनले सबै पक्षसँग छलफल गरिरहेका छन् ।

आइतबार पनि नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको छलफल चलिरहेकै बेला अध्यक्ष प्रचण्ड अर्का नेता मात्रिका यादवलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए ।

ओलीलाई हटाउनुपर्छ भन्नेमा नेपाललाई प्रचण्डले मनाइरहेको स्रोतको दाबी छ । तर, हटाउँदा पार्टी फुट्न सक्ने भएकाले पार्टीबाट संस्थागत ढंगले चल्न नेपालले जोड दिएका छन् ।

संसदीय दलमा ओलीको ४० प्रतिशत संख्या पुग्ने भएकाले उनलाई हटाउँदा पार्टी विभाजन हुन सक्ने आँकलन छ । तर, नेपाल निकट एक नेताले भने समानुपातिक सांसदलाई पार्टीले कुनै पनि बेला हटाउन निर्वाचन आयोगलाई पत्र लेख्न सक्ने भएकाले ओलीलाई अप्ठेरोमा पार्न सकिने ठाउँ रहेको बताए । यद्यपि ओली स्वयं अध्यक्ष भएकाले एकलौटी निर्णय गरेर आयोगमा दिन सहज छैन ।

तत्कालीन एमालेका १२१ सांसदमध्ये प्रत्यक्ष निर्वाचत ८० जना छन् । तीमध्ये कम्तिमा ४८ सांसद ओली पक्षमा छन् भने समानुपातिकका ४१ मध्ये २६ सांसद आफ्नो पक्षमा रहेको ओली निकट नेताहरु बताउँछन् । तर, त्यो विन्दूमा पार्टीलाई पुग्न नदिन आफूहरु हदैसम्म लचिलो भएर संवादमा बसिरहेको एक नेताले अनलाइनखबरलाई बताए ।

ओली पक्षका ती नेताले भने, ‘प्रचण्डले अहिले पनि ओली र नेपाल मिल्न नदिन सबै शक्ति लगाएका छन् । माधव नेपालले बुझ्नुपर्छ, ओली सिध्याएको भोलिपल्ट प्रचण्डले नेपाललाई सिध्याउन उही अस्त्र प्रयोग गर्छन् । मौका यही हो भनेर ओलीलाई सिध्याउन खोज्ने हो भने उहाँसँग पनि अन्तिम विकल्प धेरै छन् । यसले मुलुक र पार्टी अनि नेताहरु कसैको हित गर्दैन ।

पूर्व एमालेभित्रका केही नेताहरुले ओली र नेपालबीचमै शक्ति बाँडफाँट गरेर पार्टी एकता जोगाउनुपर्ने भन्दै दौडधूपमा लागेका छन् । यही कारण स्थायी कमिटी बैठक बोलाउनुभन्दा अघिनै एकखालको समझदारी गर्नुपरेको नेताहरु बताउँछन् ।

यसबीचमा प्रधानमन्त्री ओलीले पनि बिभिन्न नेता र कानुन विज्ञहरुसँग पनि राय परामर्श लिइरहेका छन् ।

 

 

मात्रिका पौडेलद्धारा लिखित अनलाईनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.