डाक्टर शर्माको उद्घोषपछि नोवेलमा बिरामीको भीड

Enepal Patra Pvt. Ltd. , १९१८  पटक हेरिएको

बिराटनगर, २२ चैत । नीजि अस्पतालहरूले सामान्य विरामीलाई समेत कोरोना संक्रमणको भयले रिफर गरेको समाचार आइरहेको बेला बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा भने बिरामीको भीड बढेको छ । कोरोना भाइरसको संक्रमणका कारण देशभर गरिएको लकडाउनले केही साता यता अस्पतालहरुमा बिरामीको चाप केही घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ ।
नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउँने गरेको इमर्जेन्सी इन्चार्ज डा.अमित अग्रहरीले जानकारी दिनुभयो । ‘बिगत एक हप्ता भन्दा बढी समययता बिरामी धेरै कम थिए ।’ उहाँले भन्नुभयो ‘अहिले दुई दिनयता बिरामीको चाप ह्वात्तै बढेको छ । लगभग पहिलेकै अवस्थामा बिरामी आउँन थालिसकेका छन ।’ अहिले दम, रुघाखोकी, मुटुरोग र नसा सम्बन्धी समस्याका बिरामी बढी आइरहेको डा.अग्रहरीको भनाई छ ।
केही दिन अघि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले कोरोनासहित जस्तासुकै समस्या भएका बिरामीको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला रहने कुरा सार्वजनिक गर्नु भएको थियो । नोबेलमा कोरोनाका संभावित बिरामी र अन्य समस्याका बिरामीलाई छुट्टा–छुट्टै उपचार कक्षमा राखेर उपचार गरिदै आएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘बिरामीहरुलाई संक्रमणबाट जोगाउँनका लागि बेग्ला–बेग्लै उपचार कक्षको व्यवस्था मिलाएका हौं ।’
नोबेलले स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट जोगाउँन र बिरामीमा पनि संक्रमण फैलन नदिनका लागि उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएको छ । दैनिक करिव ३ हजार बिरामीको उपचार गर्दै आएको नोेबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै सवैभन्दा ठूलो र स्तरीय अस्पताल हो ।

प्रकाशित मिति: २०२०-०४-०४ , समय : १३:०२:४७ , ४ वर्ष अगाडि