कानेपोखरी कांग्रेसले बाढ्यो आपतकालीन राहत

Enepal Patra Pvt. Ltd. , १७०५  पटक हेरिएको

कानेपोखरी(मोरङ) १४ चैत । नेपाली कांग्रेस कानेपोखरीले बिहीबार कानेपोखरी –६ र ४ का १५ परिवारलाई आपतकालीन राहत वितरण गरेको छ ।
यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । सरकारले मुलुक लकडाउन गरेको छ । जसले गर्दा दैनिक काम गरेर बेलुका चामल किनेर खाने अत्यन्तै विपन्न परिवारको चुल्होमा आगो बल्न छोडेको छ । तिनै अतिविपन्न परिवारलाई राहत वितरण गरिएको नेपाली कांग्रेस महासमिति सदस्य जयराज संयोकले बताउनु भयो । यो आपतकालीन राहत हो , कम्तीमा भोकै बस्नु नपरोस भनेर हामीले २५ किलो चामल र १ किलो नून वितरण गरेका छौं । दिलबहादुर माझी आफै दैनिक श्रम गरेर ५ जनाको परिवार पालन पोषण गर्नुहुन्थ्यो । यही बेला उहाँको घरमा अर्को विपत्ति आइलाग्यो । १० वर्षको छोरो दिवस माझीको आकस्मिक मृत्यु भएपछि उहाँ अहिले शोकमा हुनुहुन्छ । त्यसैत हुने खानेको घरमा मात्र समवेदना र सहयोग लिएर पुग्ने गर्छ हाम्रो समाज । त्यहीँ माथि सामूहिक रुपमा भेला नहुनु भन्ने सरकारी उर्दी छ । यतिबेला , सिंगारी हराउनु र चितुवा कराउनु जस्तै भएको छ ,दिलबहादुरको घरमा आफन्त र इष्टमित्रको आगमन ।
दिलबहादुर प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता थुप्रै विपन्न र समस्यामा परेका परिवारलाई कांग्रेसले आपतकालीन सहयोग गरेको छ ।
कानेपोखरी– ६ की नीशा श्रेष्ठको ग्वालीमा बस्दै आउनु भएका खड्गबहादुर महत ६ जनाको परिवारसँगै बस्नुहुन्छ । दैनिक ज्यालादारी गरी खाने महतको पनि घरमा अन्नको जोहो अत्यन्तै कम हुने गर्छ । महतले भन्नुभयो – सङ्कटमा सहयोग भयो । खुसी लागेको छ ।
कानेपोखरी –४ की पर्मिला चौधरी रमाइलो बजारको माझी होटलमा मजदुरी काम गर्नुहुन्थ्यो । होटल बन्द भएपछि उहाँको पनि चुल्होमा धुँवा आउन छोडेको छ । कमजोर आर्थिक अवस्थाकी चौधरीलाई पनि कांग्रेसले २५ किलो चामल र १ पोका नून वितरण गरेको छ । सोही गाउँकी ंसमूका चिमोरिया छोरा लीला प्रसाद सँग बस्दै आउनु भएको छ । ट्याक्टरमा सह चालक काम गर्ने लीलाको ब्यवसाय ठप्प भएपछि चिमोरियाका पनि सङ्कटका दिन सुरु भएका छन् ।
यस्तै कानेपोखरी ६ का फूलमाया दर्जी,बलबहादुर दर्जी,सुरेश माझी, धनमाया तामाङ,फूलमाया राई ,होमबहादुर विश्वकर्मा, कुमारी भुजेल , देवीसरा गुरुङलाई राहत वितरण गरिएको छ । यसैगरी कानेपोखरी –४की राजकुमारी राई,चेतनाथ पुरी,एसकुमार पुलामी र रामबहादुर थापालाई राहत वितरण गरिएको छ ।
राहत राहत वितरणमा त्रिभुनाथ फुयल,शिवप्रसाद पन्थी ,देवेन्द्र थापा, उत्तम कोइराला,शेरबहादुर लिम्बू सहित स्थानीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कांग्रेस कार्यकर्ताबाट स्वतस्फुर्त रुपमा सङ्कलन भएको रकमबाट चामल र नून खरिद गरिएको हो ।

प्रकाशित मिति: २०२०-०३-२७ , समय : ०८:१७:३४ , ४ वर्ष अगाडि