जैविक मलका लागि किसानलाई निशुल्क गाई

Enepal Patra Pvt. Ltd. , १३४३  पटक हेरिएको

हरि कोइराला,
उर्लाबारी, १ चैत । हरियाली अभियान प्रालिले जैविक मलबाट अर्गानिक तरकारी उत्पादन गर्ने किसानलाई स्थानीय जातको गाई निशुल्क प्रदान गरेको छ ।
राजनीति छोडेर कृषि उद्यममा लाग्नु भएका मोरङका खेमराज प्रधान लगायतको समूहले हरियाली अभियान सुरु गरेपछि सोही अभियान अन्तरगत किसानलाई निशुल्क गाई वितरण गरिएको हो । सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिका र वर्दगोरिया गाउँपालिकाबाट ल्याइएका गाई निशुल्क वितरण गरिएको अभियानका अध्यक्ष प्रधानले बताउनु भयो । स्थानीय जातका गाईको मूत्रबाट प्राकृतिक विषादी र गोवरबाट मल बनाउने प्रयोजनका लागि गाई वितरण गरिएको हो ।हरियाली अभियानले मोरङको पथरीशनिश्चरे,उर्लाबारी,लेटाङ,सुन्दरहरैंचा नगरपालिका तथा मिक्लाजुङ गाउँपालिकामा ३ सय बिगाहा जग्गामा बिषादी रहित तरकारी उत्पादन गर्ने तयारी गरिरहेको छ ।
तरकारी उत्पादन गर्नका लागि गाउँ गाउँमा पुगेर अभियानले किसानहरूको समूह गठन गरिरहेको छ । अभियानका अध्यक्ष प्रधानले भन्नुभयो – ‘५० जना किसानको एउटा समूह बनाउँछौं । समूहका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्ष बन्ने किसानले सामूहिक रुपमा अनिवार्य २ विगाहा जग्गामा तरकारी खेती गर्नुपर्छ । अरु सदस्यले आफूसँग उपलब्ध दुई तीन कट्ठामा लगाए हुन्छ । पूर्वाधार र वीउ, बीजनमा अभियानले किसानलाई सहयोग गर्छ ।यस्तै उत्पादन भएको तरकारी बजारीकरणको जिम्मा पनि अभियानले नै लिन्छ ।’उहाँले थप्नुभयो– अभियानसँग ४० जना बाली विज्ञानसँग सम्बन्धित प्राविधिक छन् । तरकारी लगाएका किसानको बाली उहाँहरूबाट प्रत्यक्ष निगरानी हुने उहाँको भनाई छ ।
पहिलो चरणमा आइतबार २४ वटा गाई उर्लाबारी र मिक्लाजुङका किसानलाई वितरण गरिएको अभियानका सदस्य नारायण चाम्लिङले बताउनु भयो । गाईहरू मलमुत्रको लागि मात्र पालिने भए पनि तिनले दूध पनि दिने चाम्लिङको भनाई छ। किसानलाई वितरण गरिएका गाईहरू कुनै ब्याउने छन् भने कुनै बाली लाग्ने बेलाका छन् । पोषणका हिसावले जर्सी गाईको ३ लिटर दूधको काम स्थानीय जातको गाईको १ लिटर दूधले गर्ने जानकारहरू बताउँछन् ।
गाई वितरण गर्ने अभियान सकिए पछि किसानलाई सस्तो ब्याजमा कृषि कर्जा समेत उपलब्ध गराउने अध्यक्ष खेमराज प्रधानले बताउनु भयो । उहाँले भन्नुभयो – तरकारीको परनिर्भरता अन्त्य र हरेक नेपालीको भान्सामा अर्गानिक उत्पादन पु¥याउँन अभियान सुरु गरिएको हो । झण्डै दुई दशक कम्युनिष्ट राजनीति गर्नु भएका प्रधानले भन्नुभयो–राजनीति छोडेर कृषि कर्ममा लागेका छौं । उत्कृष्ठ प्रतिफल दिन सकिन्छ भन्ने लागेको छ । अहिले सम्म किसानसाथीहरू उत्साही हुनुहुन्छ ।
तरकारी खेतीमा लाग्ने तयारीमा रहनु भएका उर्लाबारी –८ भिंगाबारीकी इन्दिरा आचार्यले गाई पाएपछि खुशी प्रकट गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०३-१४ , समय : २०:४०:४६ , ४ वर्ष अगाडि