कोरोना नियन्त्रणबारे संसदमा बहस

Enepal Patra Pvt. Ltd. , ८०६  पटक हेरिएको

काठमाडौं ,२९ फागुन । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग गर्नुभयो । नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र सङ्क्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेका कुरालाई सरकारले कडाइका साथ हेर्न ध्यानाकर्षण गराउनुभयो ।

उहाँले खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गर्नुभयो । नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो । सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिङ्गो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गर्नुभयो ।

सम्भावित सङ्क्रमण रोक्न शैक्षिक संस्था बन्द गर्न माग
यस्तै सांसदहरुले कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझवा दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले तत्काल शैक्षिक संस्था बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद भीमसेनदास प्रधान र रेणुकुमारी यादवले कोरोना भाइरसको जोखिम रोक्न तत्काल भीडभाड हुने स्थलमा आवश्यक तयारी गर्न र शैक्षिक संस्था तत्कालका लागि बन्द गर्न माग गर्नुभयो । सांसद रामबहादुर विष्टले कोरोना भाइरसको सम्भावित महामारीलाई लिएर बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएको भन्दै यसको नियन्त्रण गर्न के कति प्रगति भइरहेको छ भनी जानकारी माग गर्नुभयो ।

सांसद बिमला नेपालीले संविधानअनुसार दलित विद्यार्थीका लागि व्यवस्था भएको छात्रवृत्ति वर्तमान सरकार गठन भएदेखि खोसिएको भन्दै यसले दलित समुदायमा चोट पुगेको बताउँदै सुनिश्चित गर्न माग गर्नुभयो । सांसद भरतकुमार शाहले यातायातमा सिन्डिकेट हटिसकेको भए पनि अझै भारतबाट आउने ट्रकमा ढाँट लगाएर शुल्क लिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद महेश्वरजङ्ग गहतराजले मुलुकभर सवारी दुर्घटना बढिरहेको भन्दै सचेतना कार्यक्रम बढाउनुपर्ने बताउनुभयो ।

सांसद मीना सुब्बाले नेपाल प्रहरीका एकजना अधिकारीले केही समयअघि काखीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनामा भइरहेको छानबिन र दोषीलाई भइरहेको कारवाहीका बारेमा जानकारीको माग गर्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले छुवाछूतका घटनामा वृद्धि भइरहेको भन्दै दलित आयोग र महिला आयोग तत्काल गठन माग गर्नुभयो । सांसद यज्ञबहादुर बोगटीले कर्णाली राजमार्गको दूरावस्थाका कारण दुर्घटना बढेका भन्दै स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यज्ञराज सुनुवारले स्तरीय सडकको अभावमा पहाडी जिल्लामा यात्रा कठिनाइ भएको भन्दै सडक सुधारका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रङ्गमती शाहीले हुम्लामा हिमपातका कारण खाना र अत्यावश्यक सुविधाबाट जनता वञ्चित हुनु परेकाले तत्काल आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसीले विश्व बजारमा पेट्रालियम पदार्थको मूल्य घट्दा पनि नेपालमा किन समायोजन नभएको भनी सरकारसँग प्रश्न गर्नुभयो । साथै उहाँले सरकारले पेट्रोलमा प्रतिलिटर विभिन्न नाममा रु ४७ कर लिने गरेको भन्दै तत्काल विश्व बजारअनुसार मूल्य समायोजन गर्न माग गर्नुभयो ।

सांसद राजेन्द्रप्रसाद गौतमले भूमिसुधार मन्त्रालयअन्तर्गत सङ्खुवासभामा विशेष नापी शुरु भएकामा स्थानीय जनता खुशी भएको उल्लेख गर्नुभयो । सांसद रामबाबुकुमार यादवले सङ्घीयता कार्यान्वयनको सङ्घीय निजामती विधेयक र नागरिकता विधेयक पारितमा देखिएको ढिलाइप्रति ध्यानाकर्षण गराउनुभयो । सांसद रेणुका गुरुङले पूर्वप्रधान सेनापतिको भ्रष्टाचारसम्बन्धी प्रकरण छानबिन कहाँ पुग्यो भनी प्रश्न गर्नुभयो ।

सांसद लक्ष्मणलाल कर्णले १० वर्षे जनयुद्धकालमा तराईका जिल्लामा हटाइएको भन्सार कार्यालय आजसम्म पनि पुनःस्थापना किन हुन नसकेको भनी प्रश्न गर्नुभयो । सांसद लक्ष्मी परियारले प्रतिनिधिसभामा उपसभामुख पद यति लामो समयसम्म रिक्त राख्नुपर्ने कुनै कानूनी प्रावधान नभए पनि निर्वाचनमा किन ढिलाइ भनी प्रश्न गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०३-१२ , समय : १५:५०:५६ , ४ वर्ष अगाडि