चुनावको टिकट बाँड्दा भीम आचार्यको नाम लिँदै यसरी भयो १५ लाखको बार्गेनिङ(अडियोसहित)

Enepal Patra Pvt. Ltd. , ७५१  पटक हेरिएको

विनय बाह्रकोटी
इटहरी २२ फागुन । २०७४ सालको स्थानीय तहको निर्वाचनका बेला तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले नेता भीम आचार्यले पैसा माग्न लगाएको भन्दै आकांक्षीसँग टिकटका लागि १५ लाख माग गरेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट दिलाइदिने भन्दै श्रेष्ठले आकांक्षी भेषराज काफ्लेसँग उक्त रकम माग गरेका हुन्।

श्रेष्ठले इन्चार्ज आचार्यले २१ लाख मागेको तर आफुले १५ लाखसम्म मिलाउने भन्दै रकम माग गरेका हुन्।

सुरुमा उनै काफ्लेले रुपनारायण श्रेष्ठलाई फोन गर्छन्। श्रेष्ठले फोन गरेका बेला काफ्लेको फोन नउठेको र पछि काफ्लेले कलब्याक गरेका हुन् ।

काफ्लेले पहिल्यैदेखि टिकट मिलाइदिन आग्रह गरिरहेकाले श्रेष्ठ पैसाको प्रस्ताव गर्छन्। कुराकानीका क्रममा श्रेष्ठले काफ्लेसँग २१ लाखको प्रस्ताव गरेका छन्। पछि २१ लाखमा आफूले भीम आचार्यलाई सम्झाएको र १५ लाख सम्ममा मिलाउने वचन दिन्छन् ।

श्रेष्ठले अरु आकांक्षीहरु देवीप्रसाद आचार्य, डिल्ली अधिकारी र नरेन्द्र ढुङ्गेललाई देखाउनुपर्ने भएको भन्दै काफ्लेलाई जसरी पनि १५ लाख खोज्नुपर्ने, बरु त्यसका लागि आफूले सघाउने वचन दिएका हुन्छन्। काफ्लेले आनाकानी गर्दासमेत श्रेष्ठले भीम आचार्यको नाम लिँदै बारम्बार जसरी पनि पैसा मिलाउन अनुरोध गर्छन् । गाउँपालिका अध्यक्ष भएपछि धेरै पैसा कमाउन सकिने भन्दै श्रेष्ठले मनाउन खोजेको रेकर्डमा सुन्न सकिन्छ।

हाल नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको नाम लिएर श्रेष्ठले टिकटका लागि पैसा मागेका हुन्। पछि काफ्लेले पैसा नदिने भएपछि उनले टिकट पाएनन्। देवीप्रसाद आचार्यले टिकट पाए। हाल उनै आचार्य मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष छन्।

‘अब यो टिकट ल्याउन नै पैसा चाहिने भयो। तपाईंलाई प्रस्ट भन्छु म। अब के हो, कति हो तपाईंको जम्मै कुराचाहिँ जान्दिनँ। किनभने देवी र नरेन्द्रलाई चाहिँ लडाउनै पर्ने भयो। यिनीहरुले धेरै गरे। देवीले चुनाव जित्छ अरे त्याँ भन्छ मलाई सिधै भीम आचार्य । भेषराज त तेस्रोमा अरे भने, कसरी भने मैले, देवी फष्ट रे, सेकेण्डमा नरेन्द्र रे, थर्डमा मात्र भेषराज, भेषराज र डिल्ली खतिवडा उस्तै–उस्तै हुन् भन्छन्, ’ श्रेष्ठले भनेका छन्।

तर काफ्लेले आफूले पार्टीमा योगदान गरेको र इमान्दार भएकाले पैसा दिएर टिकट नलिने बताउँछन्। ‘अब मैले के भन्नु म त्यस्तो पैसावाला मान्छे होइन, मसँग इमान्दारिता छ । म त्यो ठाउँबाट काम गर्ने क्षमता राख्छु । तर पैसाको हकमा मेरो स्थिति बलियो छैन । साथीहरुसँग पैसा होला आफ्नो ठाऊँमा छ । मैले कमरेडलाई सहयोग गर्दा पनि गाऊँमा २ रुपैयाँ व्याजमा काढेर कमरेडको समस्या समाधान गरेको हो,’ पहिला पनि पैसा दिएको कुरा प्रष्ट पार्दै काफ्लेले भनेका छन्।

श्रेष्ठले काफ्लेको कुरालाई ध्यान नदिइ पुनस् ऋण खोज्न दबाब दिन्छन्। पछि गाउँपालिकाको अध्यक्ष भएपछि त्यो सबै एकैपटकमा असुल हुने भन्दै उनले सम्झाउँछन्।

प्रत्युत्तरमा काफ्ले भन्छन्, ‘हुन्छ भने एउटा इमान्दारिता र मूल्यांकन गरेर दिने हो भने त्यो मैले पाउनु पर्छ, मेरो आधार बलियो बनेको पनि छ । कमरेडले सहयोग गर्नुपर्छ, मैले तपाईंसँग पहिलेदेखि भरोसा गरेको पनि हो, विश्वास गरेको पनि हो । अब पैसाकै बलमा अब साथीहरुले टिकट पाउँछन्, ल्याउँछन् भने अब बेग्लै कुरा भयो, अब एमालेमा त्यस्तो प्रवृत्ति बढेछ भनेर भन्नुपर्ने हुन्छ’

‘होइन, होइन त्यो त हो कि, सही गर्ने त भीम आचार्य हो नि कमरेड कस्तो कुरा गर्नुहुन्छ । मैले तपाईंलाई यत्तिकै भेटेर आएर भनेको छु, त्यो त स्वाभाविक हो, सही गर्ने त भीम आचार्यले गर्ने हो नि, निर्णय त भीम आचार्यले गर्छ नि कमरेड, कस्तो कुरा गर्नुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ फष्ट देवी, सेकेण्डमा नरेन्द्र थर्डमा डिल्ली खतिवडा र उहाँ ९उनै काफ्ले०को उस्तै–उस्तै हो भन्ने कुरा रिपोर्टिङ छ भन्नु हुन्छ ,’ श्रेष्ठले थप दबाब बढाउँछन् ।

पैसा नदिए कुनै पनि हालतमा टिकट आउन नसक्ने भन्दै भीम आचार्य स्वयंले आफूसँग पैसा मागेको श्रेष्ठ बताउँछन् । ‘यो आदर्श तपाईंको म भनेर मात्र हुन्न । ऋणै गर्ने हो तपाईंले, मैले भने नि ऋणै गर्ने हो त्यसकारण तपाईले अलिकति चाहिं गर्नै पर्ने भयो कमरेड, त्यति भएपछि म फाइनल्ली तपाईंलाई आफ्नै तयारीमा लाग्नुस् भन्छु । भरे बेलुकै भन्छु तपाईंलाई,’ श्रेष्ठले विश्वास दिलाउन खोज्छन्।

‘जो दिने हो त्यसलाई भन्दा अरुलाई थाहा हुन्न, भीम आचार्य भनेको एकदमै गोप्य मान्छे हुन् । उहाँले हिजो भन्नु भएको छ । तपाईंले टिकट लिने हो भने कुरा यसो हो भन्नु भएको छ,’ श्रेष्ठ भन्छन् ।

तर काफ्ले पैसा नदिने कुरामा जोड दिन्छन्। अन्त्यमा काफ्लेले त्यति ठूलो रकमको बारेमा चाहिँ सोच्नु पर्ने भन्दै घरमा छोराहरुसँग सल्लाह गरेर खबर गर्ने भन्दै श्रेष्ठलाई पन्छाउन खोज्छन् । तर त्यो बेला पनि श्रेष्ठले बारम्बार भीम आचार्यको नाम लिँदै पैसा जसरी पनि जोहो गर्न आग्रह गर्छन्। यो कुरा आफूहरु बीचमात्र सीमित रहोस् भन्दै केही अत्तालिए जसरी उनी प्रस्तुत भइरहेको भान हुन्छ ।

नेता आचार्य भने आफ्नो नाम बेचेर रुपनारायणले बदमासी गरेको बताउँछन् । आफूले थाहा पाएपछि काफ्लेलाई कुनै हालतमा पैसा नदिनु भनेको बताए। उनले भने, ‘त्यतिबेलै श्रेष्ठमाथि पार्टीले कारबाही गरेर केन्द्रीय सदस्यबाट हटाएको हो। उनले माफी समेत मागेका छन्।’

नेपाल लाईभमा खबर छ ।

प्रकाशित मिति: २०२०-०३-०५ , समय : २१:२९:५१ , ४ वर्ष अगाडि