सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

Enepal Patra Pvt. Ltd. , ४४७  पटक हेरिएको

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको शुक्रबारको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गरेका थिए ।

नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि संघीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो ।

नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ ।

एक चौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिंदै बैठक स्थगन गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति: २०२०-०२-२७ , समय : १६:४६:२९ , ४ वर्ष अगाडि