दुर्घटनामा परेका मैनालीलाई सेनाको हेलिकप्टरबाट ल्याइयो अस्पताल

Enepal Patra Pvt. Ltd. , ४६८  पटक हेरिएको

काठमाडौं, १५ फागुन । सडक दुर्घटनामा परी घाइते भएका नेकपा(माले)का महासचिव चन्द्रप्रकाश (सीपी) मैनालीलाई नेपाली सेनाको हेलिकप्टरबाट अस्पतालमा ल्याइएको छ ।

बिहिबार अपराह्न गृह जिल्ला झापाबाट काठमाडौँ आउदै गरेका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते भएका थिए।

दुर्घटनामा परी नेता मैनाली, उनका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए ।

घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा ल्याइएको छ ।

नेता मैनाली चढेको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पुर्‍याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उनकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति: २०२०-०२-२७ , समय : १६:४२:०९ , ४ वर्ष अगाडि