क्षेत्री बाहुनहरू पञ्चेबाजा बजाउन अभ्यास गर्दै

Enepal Patra Pvt. Ltd. , २६४०  पटक हेरिएको

हरि कोइराला
सुन्दरहरैचा(मोरङ), १३ फागुन । मोरङको सुन्दरहरैचा ६ मा रहेको हिमचुली सांस्कृतिक समूहले पञ्चेबाजाको संरक्षण अभियान सुरु गरेको छ ।
समूहका सदस्य सबै क्षेत्री बाहुन समूदायका छन् । गाउँ शहरमा बिहे बटुले र शुभकार्य हुँदा पञ्चेबाजाको अत्यन्तै महत्व हुने गर्छ । अझ पूर्वीय समाजमा त पञ्चे र नौमति बाजा अनिवार्य जस्तै भइसकेको छ । महत्व र आवश्यकता बढेपनि गाउँघरमा बन्चेबाजा बजाउँनेहरू सहजै उपलब्ध हुँदैनन् । भएकाहरू पनि समय दिन भ्याउँदैनन् । त्यसैले हिमचुली सांस्कृतिक समूहले बन्चेबाजा बजाउने समूह तयार गर्न दैनिक जसो अभ्यास गरिरहेको छ । बाजा पनि बजाउने संरक्षण पनि गर्ने समूहका अध्यक्ष गणेशप्रसाद ढकालले बताउनु भयो ।
सुन्दरहरैंचा – ६ को जुलवी चौकस्थित डिल्लीराम रिजालको घरमा समूहले १५ दिन यता पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरिरहेको छ । बेलुका तालिममा सहभागि हुने सबै रिजालको घरमा भेला हुन्छन् ।भेलामा तालिममा सहभागि मात्र होइन । महिला, बालबालिका र वृद्ध वृद्धाको पनि उत्तिकै सहभागिता हुने गर्छ ।
भेला भएका मध्ये चन्दप्रसाद फुयल र मोहन भट्टको हातमा दमाहा हुन्छ ।चन्द्रप्रसाद कोइराला र देबराज दाहाल नरसिंहा लिएर तयार पर्नुहुन्छ । कृष्णप्रसाद चापागाई ढोलकका साथ आउनु हुन्छ । अनि झ्याम्टा लिएर जयप्रसाद फुयल र टेम्को बेदराज चापागाईले साथमा लिनुहुन्छ । सहनाई बजाउने जिम्मामा दुर्गाकुमार थपलिया,गणेश ढकाल र विष्णुप्रसाद फुयल हुनुहुन्छ ।
उहाँहरूलाई गीतको लयमा बाजा बजाउन दुर्गा थपलियाले सिकाउनु हुन्छ । सिक्ने सिकाउने कोही पनि दर्जीहरू हुनुहुन्न । तालिम लिइरहनु भएका चन्द्रप्रसाद कोइरालाले भन्नुभयो– १५ दिनमा धेरै नै सिकिसक्यौं । १ महिनामा ब्यावसायिक रुपमा बजाउन हिड्ने तयारी गरिरहेका छौं ।
समूहको बाजा बजाउने टोलीलाई वडा कार्यालयले दौरा सुरुवाल र कोटको समेत ब्यवस्था गरिदिने भएको छ । बाजा किन्न र तालिम ब्यवस्थापन गर्न समूहले १ लाख ८५ हजार रुपियाँ खर्च गरिसकेको छ । जसमध्ये नगरपालिकाले १ लाख रुपियाँ अनुदान सहयोग गरेको हो ।
समूहका सचिव दुर्गाकुमार थपलियाले भन्नुभयो– पुरुषले ब्यावसायिक रुपमा काम गर्न थालेपछि महिलालाई पनि तालिम दिने योजनामा छौं । गाउँमा पञ्चेबाजा हराइसक्यो । टाढा टाढाबाट खोजिमेली गरेर ल्याउँनु पर्छ । त्यसैले गाउँ मै टोली तयार गरेका हौं । समूहका सबै सदस्य उत्साही हुनुहन्छ । कुनै पनि सीप जात विशेषले मात्र गर्नु पर्छ भन्ने छैन । हामी सीप भए जुनसुकै काम जुनसुकै समूदायले गरे हुन्छ भन्ने सन्देश देशदेशान्तर सम्म पु¥याउँन चाहन्छौं,–अध्यक्ष गणेशप्रसाद ढकालले भन्नुभयो ।

प्रकाशित मिति: २०२०-०२-२५ , समय : २१:३७:४३ , ४ वर्ष अगाडि