लिम्बू र मगर सहित सय बढी कांग्रेसमा प्रवेश

Enepal Patra Pvt. Ltd. , ५६३  पटक हेरिएको

कानेपोखरी(मोरङ), ८ फागुन । मोरङको कानेपोखरी – ६ दहीधापमा आयोजित एक कार्यक्रममा लिम्बूवान आन्दोलनमा लामो समय देखि क्रियाशील दुई नेता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
प्रवेश गर्नेमा कानेपोखरी ६ का शेरबहादुर लिम्बू र पथरीशनिश्चरे ३ का कावुलबहादुर मगर (विकास ) हुनुहुन्छ । लिम्बू र मगरसँगै सय बढी बिहीकार कांग्रेसमा प्रवेश गर्नु भएको छ । शेरबहादुर लिम्बू कानेपोखरी कै ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहको क्षेत्र नं. ३ का अध्यक्ष हुनुहुन्छ भने विकास मगर पथरीशनिश्चरे ३ को हरियाली सामूदायिक वन उपभोक्ता समूहको अध्यक्ष हुनुहुन्छ । उहाँहरू दुबै जनाको राजनीतिक पृष्ठभूमि संघीय लिम्बूवान पार्टी थियो ।
पार्टी प्रवेश गर्ने नेताहरूलाई कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
कोइरालाले सरकार नजानिदो पाराले सर्वसत्तावाद लागु गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो – सरकारको गतिविधि हेर्दा एक मिनेट पनि सत्तामा बस्ने हैषियत छैन ।
प्रजातन्त्रको नाममा नियन्त्रित प्रजातन्त्र छ । वास्तविक प्रजातन्त्र हरण भइसक्यो । कोइरालाले मानव अधिकार समाप्त भइसकेको बताउँदै सरकार संवैैधानिक निकायलाई नियन्त्रित गर्ने ढंगले प्रयोग गर्न चाहिरहेको आरोप लगाउनु भयो । न्यायपालिका सँग समेत शशंकित हुनु पर्ने अवस्था आएको बताउँदै उहाँले न्यायपालिका सरकारले जे भन्छ , त्यही गर्छ । सरकार नियन्त्रित न्यायपालिकाले पीडितलाई वास्तविक न्याय दिन नसक्ने कोइरालाको भनाई थियो ।
कार्यक्रममा बोल्दै महासमिति सदस्य जयराज संयोकले कम्युनिष्ट पार्टीको सरकार सुकुम्बासीलाई धनीपुर्जा देखाएर जग्गा बिक्री गर्ने तयारी रहेको बताउनु भयो । असली सुकुम्बासीहरूले सरकारसँग जग्गा किन्न नसक्ने बताउँदै उहाँले भन्नुभयो – १० कट्ठा सम्म जमीन सरकारले एक रुपियाँ नतिरी दिनुपर्छ ।
पार्टी प्रवेश गरेपछि शेरबहादुर लिम्बूले भन्नुभयो – पार्टीले नयाँ र पुराना भनेर कार्यकर्तालाई हेर्ने दृष्टिकोण फरक नहोस । उहाँले – पहिचानको आन्दोलनमा लामो समय लागे पनि आफूहरूले चाहेको पहिचान कम्युनिष्ट सरकारले तुहाइदिएको बताउनु भयो । पहिचानको आन्दोलन शरणार्थी जस्तै बनेको बताउँदै लिम्बूले अब कांग्रेसमा रहेर अधिकार स्थापित गर्ने अभियान थाल्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०२-२१ , समय : ०८:०९:१४ , ४ वर्ष अगाडि