ट्याङ्कर गायब गर्न मालिक र चालककै संलग्नता

Enepal Patra Pvt. Ltd. , ४८९  पटक हेरिएको

सिरहा, ७ फागुन । लहानबाट गत मंसिर २ गते राति १२ः०० बजे लुटिएको डिजेलसहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको थियो । ना ४ ख ४१६३ नम्बरको उक्त ट्याङ्कर भेटिए पनि त्यसमा रहेको करिब २० हजार लिटर डिजेल भने गायब भएपछि प्रहरीले गिरोहनै संम्लग्न रहेको आशंका गरेको थियो ।

सिरहा प्रहरीको अनुरोधमा सप्तरी, धनुषा र प्रदेश प्रहरीले समेत ट्याङ्कर खोजीमा तीब्रता देखाएपछि ट्याङ्कर रमदैया भवारीमा रोकिरहेको अवस्थामा मंसिर ४ गते बिहान ८ः४५ बजेतिर फेला परेको थियो । उक्त ट्याङ्कर इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको थियो । डिजेल बाहेकको रित्तो ट्याङ्की फेला परेपछि नेपाल आयल निगम विराटनगर डिपो र जिल्ला प्रहरी कार्यालय सिरहाले संयुक्त रुपमा डिजेलको खोजबिन गरेको थियो । अनुसन्धानकै लागि प्रहरीको अनुरोधमा नेपाल आयल निगमले एक दिन दुईवटा जिल्लाको पेट्रोलियम पदार्थ बिक्रि वितरणमा रोक समेत लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले ट्याङ्कर लुटिएको घटना केही व्यक्तिहरुमा मात्र सीमित नरही यसमा एउटा (याकेट नै क्रियाशील रहेको हुन सक्ने भएकाले प्रहरीले खोजीमा उच्च सर्तकता अपनाएको थियो । अनुसन्धानको लागि सिरहा प्रहरीले नेपाल पेट्रोलियम व्यवसायी महासङ्घको समेत सहयोग लिएको छ ।

अमलेखगन्ज डिपोबाट ल्याइरहेको डिजेल सहितको ट्याङ्कर लहानस्थित हुलाक कार्यालयअगाडि रोकिरहेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक रामदेव यादव र सहचालक उमेश यादवलाई आइतबार राति १२ः०० बजे नियन्त्रणमा लिई ट्याङ्करसहित लुटेर लगेको बताएका थिए । तर प्रहरीले अनुसन्धान तिनै चालक तथा सहचाकललाई अनुसन्धानको घेरामा राखेको थियो ।

प्रहरीले पेश गरेको प्रमाणको आधारमा लहानबाट गत मङ्सिर २ गते डिजेल ट्याङ्कर गायब गरेको आरोपमा सिरहा जिल्ला अदालतले चार जनालाई पुर्पुक्षका लागि कारागार चलान गरेको छ । सिरहा जिल्ला अदालतका जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पछि प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने गरी हाललाई उक्त घटनाका आरोपित ट्याङ्कर चालक रामदेव यादव, सह–चालक उमेश यादव, मुन्सी दीपनारायण साह र ट्याङ्कर धनी राजेश गुप्ता भनिने राजकुमार गुप्तालाई पुर्पुक्षका लागि सिरहा कारागारमा थुनामा राख्न आदेश दिएको हो ।

सिरहाको धनगढीस्थित उग्रचण्डी पेट्रोल पम्पका सञ्चालक समेत रहेका ट्याङ्कर धनी गुप्ता र सोही पम्पका मुन्सी दीपनारायण साहको मिलोमतोमा ट्याङ्कर चालक रामदेव यादव र सह चालक उमेश यादवले ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर गायब गरी त्यसमा रहेको २० हजार लिटर डिजेल गायब गरेको सिरहा जिल्ला अदालतमा दायर गरिएको अभियोजनपत्रमा उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालय सिरहाका सहायक जिल्ला न्यायाधिवक्ता देवराज कोइरालाले चारै जनालाई प्रतिवादी ठह(याई डाँका र सङ्गठीत अपराध अन्तर्गत मुद्दा अभियोजन गर्नुभएको थियो । अभियोजनपत्रमा चारै जनाको मिलोमतोमा अपहरणको नाटक रचेर १९ लाख रुपियाँको डिजेल चोरी गरिएको उल्लेख छ ।

गत मंसिर २ गते नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्वरको ट्याङ्कर लहानबाट गायब भएको थियो । ट्याङ्कर चालक यादव र सह चालक यादवले आफूलाई अज्ञात समूहले कब्जामा लिएर अपहरण गरी ट्याङ्कर लगेको बताएका थिए । चालकले आफू अपहरणमा परेको दावी गरे पनि उनीहरूकै मिलेमतोमा डिजेल चोरी भएको अनुसन्धानमा देखिएपछि मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

‘चालकले आफू अपहरणमा परेको बताए पनि पेट्रोल पम्पका सञ्चालक गुप्ता, मुन्सी साह र सह चालकै मिलेमतोमा ट्याङ्कर गायब गरेर तेल चोरी गरेको हो,’ प्रमुख प्रहरी उपरिक्षक चतुर्वेदीले भन्नुभयो ( चालक यादवको विगत पनि राम्रो नदेखिएको पाइएपछि हाम्रो अनुसन्धान चालकप्रति केन्द्रीत भएको थियो, अनुसन्धानकै क्रममा चालक रामदेवका भाइ विजय यादव यसअघि पनि डिजेल चोरीमा संलग्न रहेको अनुसन्धानमा देखिएको छ ।

प्रकाशित मिति: २०२०-०२-१९ , समय : १७:३१:१३ , ४ वर्ष अगाडि