गिरिजाप्रसाद कोइराला नहुनुभएको भए प्रचण्ड उतिबेलै शहीद बनिसक्थे – सचेतक राई

Enepal Patra Pvt. Ltd. , ८७५२  पटक हेरिएको

विराटनगर, २ फागुन । प्रदेश नं. १ मा नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले गिरिजाप्रसाद कोइराला नहुनुभएको भए प्रचण्ड उतिबेलै शहीद बनिसक्ने बताउनु भएको छ ।
शुक्रबारको प्रदेश सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद राईले कथित जनयुद्ध दिवसको यो क्षणमा उहाँका कमरेडहरुले महान सहिद स्व. प्रचण्डको सम्झनामा मुठ्ठी कसेर एक मिनेट मौनधारण गरिरहेका हुन्थे भन्नुभयो ।
बिहीबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा आयोजित जनयुद्ध विशेष कार्यक्रममा गिरिजाप्रसाद कोइरालाले दैनिक फोन गरेर आफूलाई सदरम्काममा बम हान्न उर्जा दिनुहुन्थ्यो भन्ने भनाईको जवाफ दिँदै उहाँले सो कुरा बताउनु भएको हो ।
सांसद राईले जनयुद्धका नाममा मारिएका १७ हजार मानिसको रगतको बाछिटा गिरिजाप्रसाद कोइरालालाई लगाउने काम नगर्न सुझाव दिँदै गिरिजाप्रसादको फेरो समाएर कथित जनयुद्धका नाममा नेपाली नागरिक मार्न छोडेको नबिर्सिन आग्रह गर्नुभयो । ज्यानको दुहाइ माग्ने प्रचण्ड आज उनै गिरिजाप्रसादको विषयमा जथाभावी बोल्न र वर्बराउन थालेको बताउँदै राईले भन्नुभयो – राजनीतिको एक आशलाग्दो पात्र जनयुद्धमा आत्तिए, त्यसपछि मात्तिए अहिले पात्तिएको जस्तो अनुभुति भइरहेको छ ।

जनयुद्धपछि शान्तिप्रक्रियाको टुंगो लगाउन गिरिजाप्रसादले शान्तिदूतका रूपमा काम गरेको तर प्रचण्डले प्राणरक्षाको दुहाइ माग्दै आएको कुरा आज बिर्सिएको सचेतक राईको भनाइ छ । लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता, संघीयता र आजको उपलब्धिको आधार तयार गर्ने नेतालाई मान्छे मार्न उक्सायो भनेर तुक्ष भाषा प्रयोग भयो । भाषा र हर्कत हेर्दा प्रचण्ड पतनको बाटोमा लागेजस्तो देखिएको छ, उहाँ भन्नुभयो । सचेतक राईले कांग्रेसले प्रचण्डको भनाइको घोर निन्दा गर्छ भन्दै बोल्दा विचार गर्नुपर्ने सुझाब समेत दिनुभयो ।

प्रकाशित मिति: २०२०-०२-१४ , समय : १७:४९:२१ , ४ वर्ष अगाडि