राप्रपाको केन्द्रीय महाधिवेशन आगामी जेठ २५ गते

Enepal Patra Pvt. Ltd. , ४८६  पटक हेरिएको

काठमाडौं, १९  माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन आगामी २०७७ जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ १७ बाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्वारा प्रस्तुत निर्वाचन निर्देशिका र अधिवेशनको कार्यतालिका सामान्य परिमार्जनसहित पारित गरिएको जानकारी पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दिनुभयो । अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरू सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्षरूपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरिएको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘‘नेपालको पूर्वाधार विकासको निमित्त अमेरिकी सरकारको आर्थिक सहायता एमसिसीले नेपालको जलविद्युत र यातायात पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने राप्रपाको बिश्वास छ ।’’
बैठकले अध्यक्ष थापाले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ । यसैगरी, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालय र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदन, सहायक कोषाध्यक्ष निना भेटवालको आर्थिक प्रतिवेदन सामान्य परिमार्जनसहित पारित गरिएको छ ।
चीनमा प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र सङ्क्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधासहित उपचारको प्रबन्ध गर्न सरकारसँग बैठकले माग गरेको छ ।

प्रकाशित मिति: २०२०-०२-०३ , समय : ०७:५१:१७ , ५ वर्ष अगाडि