ठगी धन्दा चलाउने गिरोह मोरङमा पक्राउ

Enepal Patra Pvt. Ltd. , ६३५  पटक हेरिएको

विराटनगर १५ माघ । अनलाइनमार्फत् ठगी धन्दा चलाउने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । इमो, भाइबर तथा अन्य एप्समा चिट्ठा परेको भन्दै रकम ठगीमा संलग्नलाई लामो अनुसन्धान र प्रयासपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ३ बस्ने वर्ष ३६ को विशाल अर्याल भन्ने निरञ्जनप्रसाद आचार्य, वर्ष २० की देवी चौलागाईं, सुनसरी धरान नगरपालिका २० विष्णुपादुका बस्ने वर्ष २० की भावना राई, खोटाङ जन्तेढुंगा गाउँपालिका ४ बस्ने वर्ष २२ को शिवजी खड्का वडा नं। ५ बस्ने वर्ष १९ की सरिता परियार, वर्ष २० की वर्षा कार्की, वर्ष २३ की सानु गौतम र वर्ष २१ की लक्ष्मी कार्की छन् ।

उनीहरुको साथबाट ६७ लाख ९९ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

कारोबारको शैली

निरञ्जनप्रसाद आचार्य लगायतको समूहले फेसबुकमा बेस्ट वाय एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स स्टोर सप होम, केमार्ट इलेक्ट्रोनिक्स लगायतका विभिन्न फेसबुक पेज खोलेका थिए । उनीहरूले तिनै पेजमार्फत् विभिन्न प्रकारका इलेक्ट्रोनिक्स आइटमका सामान अनलाइन बिक्री गर्ने र महङ्गा सामान सस्तो मूल्यमा उपलब्ध गराउने ग्राहकलाई विश्वास दिलाएका थिए ।

जब सामानको निश्चित मूल्यमा डिल हुने कुराको विश्वास दिलाई ग्राहकले सामान अर्डर गर्छन् तब ती ग्राहकलाई पैसा जम्मा गर्ने खाता नम्बर र नाम दिने काम निरञ्जन र विशाल अर्यालले गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले विभिन्न मानिसहरूका नागरिकता प्रयोग गरी तिनीहरूकै नाममा खाता खोली ती खाता अनलाइमा सामान मगाउने मानिसहरूलाई दिई सम्बन्धित ग्राहकलाई खातामा पैसा हाल्न लगाई ठगी गर्ने गरेको खुलेको छ ।

मोरङका एसपी विश्व अधिकारीले भने, ‘‘जम्मा भएको रकम निकाल्नका लागि विशाल भन्ने निरञ्जनप्रसाद आचार्यले शिवजी खड्का देवी चौलागाईं लगायतका मानिसहरूलाई प्रयोग गर्दा रहेछन् ।’’ ग्राहकबाट उठेको केही रकम आचार्यले विभिन्न भारतीय व्यक्तिहरूको खातामा जम्मा गर्ने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताए ।

७८ नेपाली बैंक र १४ भारतीय बैंकमा खाता

ठगीमा ७८ वटा नेपाली नामको बैङ्क खाता १४ वटा भारतीय बैङ्क खाताको प्रयोग भएको पाइएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी मुद्दा ।

बैङ्किङ कसुरसम्बन्धी ऐन अन्तर्गत बैङ्किङ कसुरसम्बन्धी मुद्दा चलाइने भएको छ । यसैगरी सरकारी छाप कागजात दस्तखत किर्ते, नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकतासम्बन्धी मुद्दा, संगठित अपराध निवारण ऐन २०७० बमोजिम मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध जिल्ला सुनसरी इटहरी उ।म।न।पा वडा नं १ की छत्रकुमारी धमला, मोरङ विराटनगर १ का रोशनकुमार मण्डल, वडा नं ७ का मिर्मल सिहं रायमाझी, तनहँु आबुखैरेनी ३ का रुपबहादुर आले मगर, भक्तपुर नगरपालिका ५ का राज गोङ्ग र स्याङ्जा बिरुवा २ का होमबहादुर गुरुङले प्रहरीमा उजुरी दिएका थिए ।

यी सामान बरामद भयो

प्रमुख योजनाकार आचार्यको घरबाट धेरै सामान बरामद भएको छ । प्रहरीले उनको सुन्दरहरैंचा वडा नम्बर ३ स्थित घरबाट नगद रू १८ लाख १९ हजार ५ सय बरामद गरेको छ ।

यसैगरी विराटनगर भन्सार कार्यालय सवारी साधनको अस्थायी पैठारी अनुमतिपत्र थान ४०, भन्सार प्रज्ञापन पत्र काटिएको रसिद थान ६०, खाली भान्सार प्रज्ञापन रसिद प्याड एक थान, पहेलो रंगको स्प्रिङ सोर्स पेपर को प्याड एकथान, एभरेस्ट बैंकको रिक्वेस्ट फर्म रेमिटेन्स टु इन्डिया पाना थान दस, कम्प्युटर सीपीयू, प्रिन्टर, रंगीन प्रिन्टर, फोटो छाप्ने पेपर, हार्ड डिस्क, विभिन्न व्यक्तिको नाम र फोटो परिवर्तन गरिएको नगरिकताको फोटोकपी ३७ थान, एनटीसी सिमकार्ड सात थान, एनसेलको सिमकार्ड थान ११ र भारतीय सिमकार्ड थान ७ गरी २५ थान सिम कार्ड बरामद गरेको भएको छ ।

(बाह्रखरिमा समाचार छ ।)

प्रकाशित मिति: २०२०-०१-२९ , समय : ०५:४९:०५ , ४ वर्ष अगाडि