नेविसंघ तदर्थ समिति गठनको विवाद तत्कालका लागि अन्त्य

Enepal Patra Pvt. Ltd. , ६४६  पटक हेरिएको

काठमाडौं , १२ माघ । नेपाली कांग्रेसका लागि धेरै ठूलो टाउको दुखाईको विषय बनेको नेविसंघ तदर्थ समिति गठनको विवाद तत्कालका लागि टुंगिएको छ । २०७५ साउनमा महाधिवेशन गर्न नैनसिंह महर अध्यक्ष रहेको केन्द्रीय समिति असफल भएपछि नेविसंघ मात्रै तहसनहस भएन, नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि ठूलो किचलो सुरु भयो । निर्धारित समयमा महाधिवेशन गर्न नसेकपछि नेपाली कांग्रेस केन्द्रीय समितिले दुईपटकसम्म नेविसंघ केन्द्रीय समितिको म्याद थपेको थियो, तर  सय वर्ष म्याद थपिए पनि महर नेतृत्वको केन्द्रीय समितिले महाधिवेशन गराउन नसक्ने ठहर पार्टीले गरेपछि २०७५ माघ ३ गते महर नेतृत्वको केन्द्रीय समिति विघटन भयो । त्यसयताको एक वर्ष नेविसंघ केन्द्रीय समितिविहीन बनेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिसकेको अवस्थामा नेविसंघ केन्द्रीय समितिविहीन हुनु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि सानो समस्या होइन, त्यसैले इतर पक्षका सबै अडान पूरा गरेरै भए पनि नेविसंघको तदर्थ समिति निर्माण गर्न संस्थापन पक्ष लचिलो भएको हो ।

प्राप्त जानकारीअनुसार राजीव ढुंगानाको अध्यक्षतामा १२७ सदस्यीय तदर्थ समिति गठन गर्ने सहमति भएको छ । ढुंगाना संस्थापन पक्षकै हुन् । यसअघि महाधिवेशनमा संस्थापन पक्षले अध्यक्ष पद जितेको थियो भने कार्यसमितिमा पौडेल पक्ष र सिटौला पक्षको बहुमत थियो । अहिले त्यही मोडेलमा तदर्थ समिति गठन गर्ने सहमति भएको हो ।

तदर्थ समितिमा उमेरहद लगाइएको छैन । ६ जना उपाध्यक्षको व्यवस्था गरिएको छ । जसमा संस्थापन पक्षबाट दुईजना, पौडेल पक्षबाट दुईजना र सिटौला पक्षबाट दुईजना रहनेछन् । आठजना महामन्त्रीको व्यवस्था गरिएको छ । जसमा तीनजना संस्थापन पक्षबाट, तीनजना पौडेल पक्षबाट र दुईजना सिटौला पक्षबाट रहनेछन् । यसैगरी, ६ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ । जसमा संस्थापन पक्षबाट दुई, पौडेल पक्षबाट दुई र सिटौला पक्षबाट दुईजना रहनेछन् । कोषाध्यक्ष संस्थापन पक्षबाट रहनेछन् । केन्द्रीय सदस्यहरूमा संस्थापन पक्षबाट ४०, पौडेल पक्षबाट ३५ र  सिटौला पक्षबाट ३० प्रतिशत रहनेछन् । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरण गर्दा भएको सहमतिअनुसार गच्छदारको सिफारिसमा केही व्यक्तिलाई नेविसंघ नेतृत्वमा ल्याइने भएको छ । तरुण खबरबाट

प्रकाशित मिति: २०२०-०१-२६ , समय : १८:३०:०० , ४ वर्ष अगाडि