साम्प्रदायिक हिंसाप्रति अन्तरधार्मिक शान्ति महासंघको गम्भीर चिन्ता, शान्तिका लागि अपिल

प्रशान्त निराैला , ७०  पटक हेरिएको

लेटाङ, १५ श्रावण  । सुनसरीको देवानगञ्ज गाउँपालिका सहित देशका विभिन्न भागमा भएको साम्प्रदायिक तनाव, हिंसात्मक झडप तथा गोली चलेको घटनामा हालसम्म दुई जनाको मृत्यु भएको र सिरहाको गोलबजारमा समेत एक जनाको मृत्यु भएको घटनाप्रति अन्तरधार्मिक शान्ति महासंघ नेपाल (IPFN) ले गहिरो दुःख तथा चिन्ता व्यक्त गरेको छ। महासंघले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले धार्मिक तथा सांस्कृतिक विविधता नै सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वको आधार रहेको महासंघले जनाएको छ। कुनै पनि बहानामा धार्मिक वा साम्प्रदायिक द्वेष फैलाउने, हिंसा भड्काउने तथा समाजमा भय र असुरक्षाको वातावरण सिर्जना गर्ने कार्य स्वीकार्य हुन नसक्ने भन्दै महासंघले धार्मिक समुदाय, सामाजिक अगुवा, राजनीतिक नेतृत्व, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमता अपनाउन र अपुष्ट तथा भ्रामक सूचना प्रसारण नगर्न आग्रह गरेको छ।

महासंघले नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायलाई घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय, राहत र आवश्यक सुरक्षा उपलब्ध गराउन आग्रह गरेको छ। साथै, यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रोकथामका उपाय अवलम्बन गर्न आग्रह गर्दै महासंघका अध्यक्ष रामभक्त कुरुम्बाङले संवाद, सहिष्णुता, आपसी सम्मान र राष्ट्रिय एकताको माध्यमबाट शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।

 

प्रकाशित मिति: २०२६-०७-३१ , समय : १७:०७:४६ , २ घन्टा अगाडि