निरोज ढकाल , ८ पटक हेरिएको
रेनकोटभित्र लुकेको मुस्कान, भाइरल भिडियोको वास्तविक कथा
पानी परिरहेका बेला रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाको १७ सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल बनेको छ। दुई दिनमै उक्त भिडियोले २ करोड २० लाखभन्दा बढी भ्युज पाउँदै लाखौँ प्रयोगकर्ताको ध्यान तानेको छ।
भाइरल बनेको भिडियो रोल्पाको रुन्टीगढी गाउँपालिका–४, सुर्पाल क्षेत्रको रहेको खुलेको छ। भिडियो स्थानीय लोकेन्द्र पुनले सुर्पालस्थित टंक सुपारी स्मृति प्रतीक्षालयबाट खिचेका हुन्। उनले माइती आएकी दिदीलाई बस चढाउन प्रतीक्षालयमा बसिरहेका बेला झरीमा स्कुलतर्फ हिँडिरहेका ती बालिकालाई देखेर भिडियो बनाएका थिए।
भिडियोमा देखिएका तीनै जना बालिका सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत विद्यार्थी हुन्। उनीहरूमध्ये दुई जना एउटै परिवारका हुन् भने अर्की एक जना छिमेकी हुन्। उनीहरू दैनिक सँगै विद्यालय आउने–जाने गर्ने गरेको बताइएको छ।
भिडियो भाइरल भएपछि धेरैले ती बालिकाको अनुहार देख्न इच्छा व्यक्त गरेका थिए। त्यसपछि लोकेन्द्र पुनले उनीहरूको अनुहार देखिने अर्को भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनले बालिकासँग कुरा गर्ने प्रयास गरे पनि उनीहरू पहिलेझैँ केही नबोली आफ्नै सुरमा विद्यालयतर्फ लागेको बताएका छन्।
भिडियो व्यापक रूपमा भाइरल बनेसँगै धेरैले डाउनलोड गरेर आफ्ना फेसबुक र टिकटकमा पुनः पोस्ट गरेका छन्। कतिपयले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर पनि भिडियो रूपान्तरण गरेका छन्। आफ्नो भिडियो यति धेरैले मन पराएकोमा खुसी लागेको बताउँदै पुनले क्रेडिट नदिई अरूले आफ्नो सामग्री प्रयोग गरेकोमा भने दुःख लागेको प्रतिक्रिया दिएका छन्।
प्रकाशित मिति: २०२६-०७-२४ , समय : ११:११:५२ , १ घन्टा अगाडि