लेटाङ नगरपालिकाले ल्यायो ६९ करोड बजेट

निरोज ढकाल , ६  पटक हेरिएको

 

 

लेटाङ- ११ असार। मोरङको लेटाङ नगरपालिकाको १९औँ नगरसभा अधिवेशन बुधबार सम्पन्न भएको छ। लेटाङ–५ स्थित ज्येष्ठ तथा अपांग नागरिक दिवा सेवा केन्द्रको सभाहलमा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ५० लाख ३० हजार ४ सय ५ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

 

“संस्कृत समृद्ध नगर, लेटाङवासीको रहर” भन्ने नारासहित सम्पन्न नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। अधिवेशनमा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

 

प्रस्तावित बजेटअनुसार कुल विनियोजनमध्ये चालुतर्फ ४५ करोड ५८ लाख ६४ हजार ५ सय रुपैयाँ र पुँजीगततर्फ २३ करोड ९१ लाख ६५ हजार ९ सय ८ रुपैयाँ छुट्याइएको छ। नगरपालिकाले आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड तथा जनसहभागितामार्फत बजेट व्यवस्थापन गर्ने जनाएको छ।

 

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा १० शैयाको अस्पताल सञ्चालन, अन्तरधार्मिक शान्ति पार्क तथा पर्यटन प्रवर्द्धन, जाते खानेपानी आयोजनाको स्तरोन्नति, सडक कालोपत्रे, विद्यालय भवन निर्माण तथा स्तरोन्नति, शान्ति भगवती माध्यमिक विद्यालयमा छात्रावास (होस्टेल) निर्माण, सुशासन तथा संस्थागत विकास लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ।

 

नगरपालिकाले वडा तहका विकास कार्यक्रम सञ्चालनका लागि करिब ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ। यसका साथै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरिएको छ।

 

चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा प्रस्तुत गर्दै नगरपालिकाले विभिन्न चुनौतीका बाबजुद अन्तरधार्मिक शान्ति पार्क सञ्चालनमा आएको, १० शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको तथा शिक्षा र पूर्वाधार विकासका महत्वपूर्ण योजनामा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ।

 

नगर प्रमुखले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकास, सुशासन प्रवर्द्धन र नागरिक सन्तुष्टिलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताए। उनले आगामी वर्षका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।

 

नगरसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक सुझाव समेट्ने तथा पारित गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ। बुधबार सम्पन्न १९औँ नगरसभा अधिवेशन ले आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकता तय गरेको छ।

प्रकाशित मिति: २०२६-०६-२५ , समय : १६:००:५३ , २ घन्टा अगाडि